Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

  गुरुकूलमा अनुशासनसँगै व्यावहारिक ज्ञान 


सूचना कुण्ड
  गुरुकूलमा अनुशासनसँगै व्यावहारिक ज्ञान 

सूचनाकुण्ड समाचारदाता 
नवलपरासी, असोज६  : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकूलमा भर्ना हुनुभयो । गैँडाकोट–१ मा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकूलमा कक्षा ८ मा अध्ययन गर्ने सुजनले अहिले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताउनुभयो ।    
    
“यहाँ बिहान ४ बजे उठ्ने नित्यकर्म गर्ने, १५ मिनेट ध्यान, पाँच मिनेट प्रणायम र महर्षी पूजा गर्ने, पूजा पछि अखण्ड रुद्राभिषेक पाठ बिहान ६ बजेभित्र नै गरिसक्छौँ”, उहाँले भन्नुभयो, “जीवनमा अनुशासन, समयको महत्व, सरसफाइ र कर्मको ज्ञान मिलेको छ ।”    
    
मौलाकालिका धार्मिक सेवा समिति गैँडाकोटमार्फत मन्दिर परिसरमा सञ्चालित संस्कृत विद्यापीठ गुरुकूलमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । गुरुकूललाई धर्मशास्त्र सिकाउने केन्द्रका रूपमा धेरैले बुझ्ने गर्दछन् । यसको गहिराइ बुझ्दा धर्मशास्त्र सँगै व्यावहारिक ज्ञान एकै ठाउँमा सिकाउने थलो भएको अधिकारीले बताउनुभयो । गुरुकूलमा अध्ययनरत विद्यार्थीमा संस्कृतप्रतिको मोहमात्र होइन, जीवन र जगतसँग परिचित हुने अभ्यासको विकास भएको अध्ययनरत विद्यार्थीको भनाइ छ ।    
    
अर्घाखाँचीका १४ वर्षीय दिनेश पौडेल अहिले गुरुकूलको कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । कक्षा ५ सम्म अर्घाखाँचीकै गाउँको स्कुलमा पढ्नुभएका पौडेल कक्षा ६ देखि गुरुकूलमा पढ्न थाल्नुभएको हो । सामान्य विद्यालयको पढाइभन्दा गुरुकूलका कक्षाहरू उहाँका लागि विशेष भएको छ । गुरुकूलको पढाइ, रहनसहन, खाने, बस्ने सबै कुरा बेग्लै लाग्ने गरेको पौडेलले बताउनुभयो । “म यहाँ आफ्नै इच्छाले पढ्न आएको हो, यहाँ आएपछि जीवनशैलीमा निकै परिवर्तन भयो”, उहाँले भन्नुभयो, “दैनिक कर्मले गर्दा अनुशासन र स्मरण क्षमतामा पनि परिवर्तन आएको छ ।”    
    
गुरुकूल शिक्षामा धर्म, संस्कार र संस्कृति सिकाइन्छ । प्राचीनकालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रूपमा गुरुकूल शिक्षालाई लिने गरिन्छ । गुरुको आश्रममा गएर शिक्षा लिइने पद्धतिलाई गुरुकूल शिक्षाका रूपमा बुझिन्छ । पछिल्लो समय गुरुकूलको अस्तित्व मेटिँदै गएको बेला मौलाकालिका संस्कृत विद्यापीठ यसको नमूनाका रूपमा रहेको समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । गुरुकूल शिक्षाबाट धर्मशास्त्रसँगै व्यावहारिक ज्ञानले सानै उमेरमा असल मान्छे बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।    
    
यहाँ वैदिक धर्म संस्कृतिको संरक्षणका लागि बेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड विषयका साथै वैदिक संस्कारलाई आधुनिकतर्फ लैजानका लागि अङ्ग्रेजी, गणित र नेपाली विषय पनि अध्यापन हुँदै आएको सापकोटाले जानकारी दिनुभयो । “कक्षा ८ सम्म अध्ययन हुँदै आएकामा अब १२ कक्षासम्म अध्ययन गराउन मिल्ने गरी भवन निर्माण भएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको उत्साह र बढ्दो महत्वले गुरुकूल सञ्चालनमा उत्साह मिलेको छ ।”    
    
गुरुकूलमा मुख्यगरी विद्यार्थीलाई अनुशासित बनाई जीवन दर्शन र धर्मशास्त्रको ज्ञान दिइने सापकोटाले बताउनुभयो । विद्यार्थीहरूलाई बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म व्यस्त राख्ने गरिन्छ । “खाने, बस्ने, खेल्ने, सुत्ने, पढ्ने, ध्यान गर्ने, पूजापाठ गर्ने, योग गर्ने, घर जाने सबै कुराको समय तोकिएको हुन्छ, समयको पालना गर्नु पनि अनुशासन हो”, उहाँले भन्नुभयो, “सामान्य स्कुलमा पढाइ हुने गणित, सामाजिक, अङ्गे्रजी जस्ता विषय यहाँ पनि अध्यापन गराइन्छ ।”    
    
गुरुकूलमा धर्मसंस्कार पढाइने भएकाले पनि विद्यार्थीलाई असल काम गर्न प्रोत्साहित गरिन्छ । ध्यानले स्मरणशक्ति मात्र नभई दिमाग तेज हुनुका साथै गुरुकूलले अनुशासित हुन मद्दत गरेको विद्यार्थीहरूको अनुभव छ । नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्नेबारे सानै उमेरमा सिक्न पाउँदा असल नागरिक बनाउन गुरुकूल शिक्षा उदाहरणीय शिक्षा रहेको अध्यक्ष सापकोटाले बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend