Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय   


सूचना कुण्ड
दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय   


सूचनाकुण्ड समाचारदाता 
भक्तपुर, असोज १: आज भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा सोमबार नेवार समुदायले जीवनमा चोर दोष नलागोस भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउनका लागि गणेश भगवान र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदैछन । भगवान गणेशको जन्म दिन भएको मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्बिरसहित पूजामा चाहिने सामग्रीहरु भित्र्याउने गर्छन ।    
    
 गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रुपमा समेत लिन्छन् । यस दिनलाई दशैँको प्रारम्भ पर्वको रुपमा लिइन्छ । यस दिन विशेषगरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ राम्रो हुने धार्मिक विश्वास भएको पाइन्छ । आजकै दिन भक्तपुरका किसानहरुले अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन समेत छ ।    
    
 यस दिन राति नेवार समुदायमा कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत पूजा गर्ने गरिन्छ । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्बिर राखेर, नैबद्य, पंचपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रो, सुन्तला, काँचो भिजाएको काँचो केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्ला समेत आठ प्रकारका गेडागुडी चढाइन्छ । साथै पूजामा ध्यूमा भुटेको आरुको वियाँ, दुवो, कालो तिलको लड्डु, मुला खाइसी(भोगते जस्तो एक प्रकारको फल) चढाउँछन् । चथाः गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घर परिवारका सबै सदस्यहरु बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबैजना बसेर चथाः गणेशलाई चढाएको पंचपकाव, काँक्रा, फलफुल र भुटेका गेडागुडी प्रसादको रुपमा खाने गरिन्छ । प्रसाद खाइसकेपछि दहिको सगुनसहितको भोज खाइन्छ ।    
    
 यस दिन चथाः गणेशको पूजा गरे खुशी मिल्ने, जीवनमा चिताएको मनोकाक्षा पूरा हुनुका साथै दशैँ राम्रोसँग मनाउन पाउने लोक मान्यता छ । चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास छ । नेवार समुदायमा चथाःको दिन गणेश र चन्द्रमाको पूजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन छ ।    
    
 आज राति चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थायी र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा ईतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो ।    
    
 पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन् । गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो।    
    
 त्यसपछि देवीदेवताहरु समेतले चन्द्रमाको मुख हेर्न छाडेको र यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भएको भनाइ छ । साथै चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेको र त्यसपछि चन्द्रमा महादेवको शरणमा गइ महादेवको सहयोगले गणेशलाई दुवो, लड्डु र मुला चढाई क्षमायाचना गरेको कथा छ ।    
    
 चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको एक दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिएका थिए । साथै गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend