Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

तीज संस्कृति : हरायो चेली लिन जाने चलन, छोडियो लय  


सूचना कुण्ड
तीज संस्कृति : हरायो चेली लिन जाने चलन, छोडियो लय  

सूचनाकुण्ड समाचारदाता 
म्याग्दी, भदौ ३१: भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ ।    
    
 स–साना छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डो¥याउँदै भाइको अघिपछि हुँदै साँझपख मात्रै माइतीको आँगनमा पाइलो टेक्दा मिल्ने खुसी अहिले वर्णन नै गर्न नसकिने बेनी नगरपालिका–२ की ६९ वर्षीया यामकुमारी शर्माले बताउनुभयो ।    
    
 तीज आयो जाउन बाबु दिदी लिनलाई    
 खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।    
 हुन्छ आमा दिदी लिन जान्छु जान त    
 कोसेली पो के लानी हो पर्छ लान त ।।    
    
 “गाउँमा मोटर गुड्ने सडकको पहुँच थिएन, चेलीबेटी लिन माइती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासू, ससुरा, घरपरिवारको मन जितेर र उनीहरुलाई मनाएर मात्रै माइत जान पाइन्थ्यो”, शर्माले भन्नुभयो, “हिजोआज भने गाउँगाउँमा सवारीसाधन पुगेका छन्, हातहातमा मोबाइल छ, न दाजुभाइलाई दिदीबहिनी लिन जाने झन्झट र न दिदीबहिनीलाई कोशेलीपातको व्यवस्था गर्न गाह्रो, पैसा भए बजारमा सबै चिज पाइन्छ, आनन्दै ।”    
    
 मालिका गाउँपालिका–४ का डेकबहादुर घर्तीले भन्नुभयो, “तीजको रौनक पनि हराउँदै जाँदा पुराना दिन केबल सम्झनामात्रै बन्न थालेका छन्, हिजोआज तीजको लय हराउँदै गएको छ, विकृति फस्टाउँदै गएको छ ।”    
    
 ज्यामरुककोटकी ८९ वर्षीया खिरकुमारी कार्कीका अनुसार वर्षामास धान रोपेर सकिएपछि तीजकै लागि अनदी, झिनुवाको चामल, घ्यु पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्युमा पकाएको खाजा, तामा, गावा जस्ता परिकार बनाएर दरका रुपमा खाने चलन थियो ।    
    
 केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा छ । तर हिजोआज भने माछा, मासु, खिरलगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्न थालेको छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार ब्रत बस्ने चलन अहिले भने हरायो । तर अहिले एक महिनाअघिदेखि होटल तथा पार्टी प्यालेसमा दर खाइन्छ, भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ । यसोगर्दा तीजको सांस्कृतिक र आध्यात्मिक पक्ष नासिँदै गएको छ भने सामाजिक सद्भाव पनि बिग्रँदै गएको छ ।    
    
 अहिले दरखाने निहुँमा ठूलाठूला पार्टीप्यालेस, होटलमा जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मकरुपमा जानेको पनि लहर छ । बेनीबजारका विभिन्न होटल, पार्टीप्यालेसमा दरखान जानेहरुको आकर्षण बढ्दै जाँदा विकृति पनि निम्तिएको छ ।    
    
 “हरितालिका तीज पर्व महिलालाई सशक्त बनाउन, परम्परा र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने, घरायसी, सामाजिक, हिंसालाई बाहिर निकाल्ने अवसरका रुपमा लिइन्छ तर हिजोआज तीज गीतका नाममा विकृति पनि केही देखिएको हुदा ती विकृति विसङ्गतिलाई हटाई महिलाका वेदना पोख्ने पर्वका रुपमा अगाडि बढाइनुपर्छ”, म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजी सुवेदीले बताउनुभयो ।    
    
 धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका छन् ।    
    
 पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन एक सय सात जन्मसम्म घोर तपस्या गरे पनि १०८औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाउँ भनी तीजको व्रत बस्ने चलन छ ।    
    
 तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रर्तालु महिलाले तीन सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।    
    
 अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।    
    
 तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन पनि विस्तारै हराउँदै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ । समाजलाई सही बाटोमा हिँडाउने गीत भद्दा र मजाकका वस्तुजस्तै बनेका छन् । ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ । लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन । मङ्गला गाउँपालिका ५ की ७१ वर्षीया पूर्णकुमारी पौडेललाई उहिलेको तीजबारे सोध्दा गुनगुनाउनुभयो,    
    
 घ्यु भरेर राखे आमा फूल भरेको टिनमा    
 बाँचे आमा भेटौँला वर्ष दिनमा ।    
    
 उहाँले भन्नुभयो, “अहिलेका गीतमा मलाई खासै रुचि छैन । यी तीजका गीतजस्ता पनि छैनन् ।” अहिलेका गीतहरू सुन्दा दिक्क मान्नुहुने उहाँ आफूहरूले पहिलापहिला गाएका गीतहरु सम्झँदै पहिलाको जस्तो रमाइलो अहिलेका तीजमा हुन छाडेको बताउनुभयो ।    
    
 अहिले तीजभन्दा अगाडि नै दर खाने चलन बढ्दै गएको र तीजमा पहिलाको जस्तो रौनकता पनि नरहेको बेनी नगरपालिका–९ की तारा सुवेदीले बताउनुभयो । “समयअनुसार चाडपर्व मनाउने परिपाटी पनि परिवर्तन भएको हुनसक्छ”, उहाँले भन्नुभयो, “पहिलेपहिले गाउँघरमा बसेर तीज मनाउने गरेको भए पनि अहिले त पार्टीप्यालेसमा गए दर खाए आए । गीतमासमेत विकृति भित्रन थालेको छ ।”    
    
 गीत गाउँदा पहिला दिदीबहिनी भेला भएर सुखदुःखका कुरा र सासूले दिएका पीडालगायत विषयमा गाउने गरेको भए पनि अहिले कसको श्रीमान्ले कति कमाउँछ भन्नेमा मात्रै केन्द्रित भएको उहाँको भनाइ थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend