Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम अझै सकिएन 


सूचना कुण्ड
रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम अझै सकिएन 

सूचनाकुण्ड समाचारदाता 
ललितपुर, भदौ २१ : वर्षा र सहकालका रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ वर्ष बितिसक्दा सम्पन्न भएको छैन । ललितपुर उपमहानगरपालिका–२२ बागमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई विसं २०७२ को भूकम्पले ढालेको थियो ।    
    
 मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनःनिर्माण भइसकेका छन् । तर, ऐतिहासिक र प्रख्यात रातो मच्छिन्द्रनाथको मन्दिर भूकम्पले क्षति पुर्‍याएको आठ वर्ष बितिसक्दा पनि पुनःनिर्माण पूरा भएको छैन ।    
    
 श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनःनिर्माण विभागले विसं २०७४ मा मन्दिर पुनःनिर्माणको काम प्रेरा भेगिम तुल्सी जेभी निर्माण कम्पनीले दुई वर्षमा मन्दिर पुनःनिर्माण सक्ने गरी ठेक्का दिएको मच्छिन्द्रनाथ पुजारीसङ्घका अध्यक्ष यज्ञरत्न शाक्य बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “मन्दिरको काम सुरु भएर मन्दिर एकतलासम्म निर्माण भएको थियो । मन्दिर निर्माण गर्दा प्राविधिक त्रुटि देखिएपछि फेरि भत्काएर सुरुदेखि निर्माण गर्नुपर्‍यो ।”    
    
 मन्दिरको पुनःनिर्माण कार्यको जिम्मा लिएको कम्पनीले बीचमै काम छोडेपछि विसं २०७६ पुस १४ गते श्री रातो मच्छिद्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जिम्मा लिएको थियो । सम्झौताअनुसार उपभोक्ता समितिले विसं २०८० जेठ ३० गते काम सम्पन्न गर्नुपर्ने हो तर मन्दिर निर्माणको काम अझै अस्तव्यस्त छ ।    
    
 रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण तथा संरक्षण कार्यको बाँकी काम पूरा गर्ने उद्देश्यले रु तीन करोड आठ लाख आठ हजार नौ सय लागतमा मन्दिर निर्माण गर्ने सम्झौता भएको छ । सम्झौता मितिमा काम सकिनुपर्ने तर हाल मन्दिर निर्माणको कामसमेत रोकिएको छ । मन्दिर निर्माणका लागि प्रयोग गरिएको दाजी इँटाको अभाव भएको मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य बताउनुहुन्छ ।    
    
 सहकालका देवताका रूपमा मच्छिन्द्रनाथ रथ जात्रालाई उपत्यकाकै पृथक र ऐतिहासिक महत्त्व बोकेको जात्राका रुपमा लिइन्छ । मच्छिन्द्रनाथ मन्दिर पाटन र बुङ्गमतिमा एक एक वटा रहेको छ । मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार यो मन्दिर अत्यन्तै पुरानो मन्दिर हो । उहाँले भन्नुहुन्छ, “मन्दिर स्थानपनाबारे कुनै शिलाखेल नभएको र हामीले सुनेअनुसार यो मन्दिर १४ सय वर्ष पहिले बनेको रहेछ । धेरै पुरानो तर बीचमा मर्मतसम्भार नभएकाले भूकम्पमा भत्किएको हो ।”    
    
 बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिरबाट १२ वर्षमा एकपटक रातो मच्छिन्द्रनाथको रथ तयार गरी पाटनमा घुमाएर पुनःरथलाई बुङ्गमतीमै पुर्‍याउने प्रचलन छ । पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य भन्नुहुन्छ, “विसं २०८४ मा १२ वर्ष पुग्ने भएकाले मन्दिर पनि त्यही समयमा निर्माण हुन्छ जस्तो छ । काम गर्नेले निरन्तर काम गर्नुपर्ने हो तर गरिरहेका छैनन् ।”–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend