Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बाघ मारेपछि पोखरामा बाघजात्रा सकियो   


सूचना कुण्ड
बाघ मारेपछि पोखरामा बाघजात्रा सकियो   

सूचनाकुण्ड समाचारदाता 
कास्की, भदौ २१ : पोखरामा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा बुधबार सकिएको छ । पोखराको बाघजात्रा आयोजक समितिले बाघजात्राको सुरुआत गरेको थियो ।    
    
 पोखराका नेवार समुदायले २३ वर्र्षपछि बाघजात्रा मनाएका हुन् । विभिन्न कारण २०५७ सालदेखि यता यो जात्रा रोकिएको थियो । त्यसपछि पोखरामा पुनः जात्रा देखाइएको बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताउनुभयो । तीन दिनसम्म मौसमले साथ दिएकाले भव्यरूपमा सम्पन्न भएको उहाँले सुनाउनुभयो । “सबैभन्दा पहिला त भगवान्लाई धेरै धेरै धन्यवाद छ । यो तीन दिनमा मौसमले राम्रो साथ दियो,” समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “२३ वर्षपछि भएको जात्रालाई अब निरन्तरता दिनका लागि पाँच÷छ वर्षमा आयोजना गर्छौं ।”    
    
 उहाँका अनुसार पहिलो दिन भदौ १८ गते नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक पुगेको थियो । दोस्रो दिन १९ गते नेवा छे हुँदै गणेशटोल, सिमलचौर, सिर्जनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै जात्रा नेवाः छे पुगेर सकिएको थियो । अन्तिम दिन २० गते मुख्य समापन समारोहका लागि नेवाः छेबाट भीमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रङ्गशाला पुगेको उहाँले बताउनुभयो ।    
    
 जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए । पोखराका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् ।     
    
 तेइस वर्षपछि भएको बाघजात्रा भव्य सफल भए पनि केही कमजोरी र चुनौती रहेको आयोजक समितिका सचिव सुनिल उलकले जानकारी दिनुभयो । “कार्यक्रम भव्यरूपमा सम्पन्न भयो तर केही कमजोरी र चुनौती अवश्य रहे,” उहाँले भन्नुभयो, “२३ वर्षअघि जति उपस्थिति थियो त्यति हुन सकेन । यसमा पोखरामा रहेका कतिपय सङ्घसंस्थाहरूमा पत्र नपुगेको भन्ने आयो । आगामी दिनमा यसलाई सुधार्नुपर्छ ।”    
    
 जात्रामा मुस्ताङी समुदाय, मगर समुदायले साथ दिएको उहाँले बताउनुभयो । यसबाहेक भक्तपुरको घिन्ताघिसी (५० जनाको समुह) ले विभिन्न साँस्कृतिक नृत्यहरू प्रदर्शन गरेको उहाँले बताउनुभयो । धार्मिक किंवदन्तीअनुसार प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिएको जात्रा अन्त्य भएको सचिव उलकले बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend