Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हराउँदै गौराको मौलिकता   


सूचना कुण्ड
हराउँदै गौराको मौलिकता   


सूचनाकुण्ड समाचारदाता 
दोधारा चाँदनी , भदौ ७ : गौरा पर्वको आफ्नै गरिमा र महत्व रहेको छ । यो पर्व डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढिरहेको छ । पछिल्लो समय आधुनिकतामा परेर गौरा पर्वको मौलिकता हराउँदै गएको छ ।    
    
 खासगरी गौरा भन्नेबित्तिकै महिलाले व्रत बस्ने, दुबधागो लगाउनेसँग सम्बन्धित छ । अहिलेको पुस्ताले भने गौराको सांस्कृतिक महत्वप्रति ख्यालै नगरी केवल रमाइलोका लागि मात्रै मनाउने गरेका छन् । विभिन्न सङ्घसंस्थाले पनि संस्कृतिको जर्गेना गर्ने नाममा महोत्सव वा देउडाको मात्रै आयोजना गर्न थालेका छन् । यसले गौराको मूल मर्ममाथि नै प्रहार हुन थालेको संस्कृतिविद् बताउँछन् ।    
    
 गौरा पर्व वैदिक र पौराणिक पर्व भएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । “गौरा पर्व मनाउनका लागि निश्चित विधि र पद्धति छ, त्यो पद्धतिअनुसार नै मनाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसको सांस्कृतिक पक्ष र आध्यामिक परम्परागत अनुसार पर्व मनाउनु पर्दछ ।” उहाँले गौरा नारीको महत्वपूर्ण पर्व भएको बताउँदै यसको मौलिकता जोगाउनुपर्नेमा जोड दिनुभयो ।    
    
 गौरा पर्वसँग जोडिएको ढुस्का, धुमारी, राम लीला र श्रीकृष्ण लीला गायनको पनि छुट्टै विशेषता छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने ठाउँमा विभिन्न सङ्घसंस्थाले महोत्सव भनेर देउडा कार्यक्रम गर्न नहुने लेखकको भनाइ थियो ।    
    
 “अहिले मानिसहरूले संस्कृति र परम्पराका बारेमा नबुझेर नयाँनयाँ तरिकाले मनाउन खोज्छन्, यसले गौराको मौलिकता नै गुम्ने खतरा छ”, साहित्यकार कविराज भट्टले भन्नुभयो, “गौरा मनाउने निश्चित ठाउँ र परम्परा छ, त्यही परम्पराअनुसार मान्नुपर्ने हुन्छ ।” उहाँले सङ्घसंस्थाले आफ्नो प्रचारप्रसारका लागि तोडमोड गरेर गौरा मनाउन नहुने बताउनुभयो । पछिल्लो सयम आनुधिकतासँगै गौरा पर्व मनाउने चलन पनि फेरिँदै गएको भट्टको भनाइ थियो ।    
    
 गौरालाई देउडा खेल्ने पर्वका रूपमा मात्रै बुझिदिँदा समस्या भएको पाकापुस्ताको भनाइ छ । प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त मीतबन्धुले गौरा र देउडा नितान्त फरक विधा र गायन भएको बताउनुभयो । “अहिले गौरा भनेर देउडा खेल्ने गरिन्छ, देउडा गौरा हुँदै होइन यसको छुट्टै महत्व छ”, उहाँले भन्नुभयो, “गौरा पर्वलाई देउडा पर्वमा बुझ्यौँ भने यसको महत्व नै रहँदैन ।” उहाँका अनुसार गौरामा खेलिने, गाइने भाका र लय हराउँदै गएका छन् ।    
    
 डोटेली भाषीको पहिचान, संस्कार र संस्कृतिसमेत हराउँदै गएको गुगुल्डी वाङ्मय प्रतिष्ठानका सचिव जगदीश ओझाले बताउनुभयो । “गौरा पर्व के हो ? यसको महत्व के हो ? के–कस्ता गीत कस्तो लयमा गाइन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिँढीले वास्ता गरेको छैन”, उहाँले भन्नुभयो, “अहिले स्थानीय पाठ्यक्रममा हाम्रो संस्कृतिका बारेमा समावेश गरेर नयाँ पुस्तालाई जानकारी दिनुपर्छ ।”    
    
 पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण यसको मौलिकता हराउन थालेको ओझाको बुझाइ छ । मौलिक परम्परा र संस्कृति जगेर्नातर्फ सबै लाग्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend