काठमाडौं, मङ्सिर ११ : नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन हुनु भएको छ । संघको ४० औँ वार्षिक साधारणसभाबाट रेग्मी निर्विरोध अध्यक्ष चुनिनु भएको हो ।
हाल संघको उपाध्यक्ष रहेका रेग्मीलाई अध्यक्ष बनाउने विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूबिच सहमति जुटेको हो । संघको लामो समयदेखि कायम रहेको उपाध्यक्षलाई अध्यक्ष बनाउने अभ्यासअनुसार रेग्मीले नेतृत्व सम्हाल्न लाग्नुभएको हो ।
रेग्मी अध्यक्ष बनेसँगै संघको रिक्त हुने उपाध्यक्ष पदमा कुमारी बैंकका सीइओ रामचन्द्र खनाल सर्वसम्मत हुनुभएको छ ।
संघमा विगत १३ वर्षदेखि उपाध्यक्षलाई नै अध्यक्षमा पदोन्नति गर्ने अभ्यास निरन्तर रहँदै आएको छ । यद्यपि, दुई वर्षअघि उक्त परम्परा कायम रहने विषयमा केही अन्योल देखिएको थियो ।
२०८१ पुसमा सम्पन्न संघको ३८ औँ वार्षिक साधारणसभाका बेला माछापुच्छ्रे बैंकका तत्कालीन सीइओ सन्तोष कोइराला र प्रभु बैंकका सीइओ अशोक शेरचनले अध्यक्ष पदमा दाबी प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष चयनलाई लिएर बैंकका प्रमुख कार्यकारीबिच प्रतिस्पर्धा देखिएपछि पूर्व अध्यक्षहरूले सहमति कायम गराउन पहल गरेका थिए ।
