काठमाडौँ, मङ्सिर ११ : सरकारले विभिन्न सरकारी निकायमार्फत सञ्चालन भइरहेका स्वास्थ्य उपचारसम्बन्धी कार्यक्रमलाई राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत एकीकृत गर्ने तयारी गरेको छ । स्वास्थ्य उपचारका नाममा विभिन्न निकायबाट उपलब्ध गराइँदै आएका सुविधाबिच देखिएको दोहोरोपन हटाउने र सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा ऐन संशोधन प्रक्रिया अघि बढाइएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउन विद्यमान ऐन तथा नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ । प्रस्तावित संशोधनमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका एकै प्रकृतिका मिल्दाजुल्दा स्वास्थ्य कार्यक्रमलाई एउटै प्रणालीमा समेट्ने विषयलाई प्राथमिकता दिइएको छ ।
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलले गोरखापत्रसँग कुरा गर्दै विभिन्न निकायबाट सञ्चालन भइरहेका स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई एकीकृत गर्न र सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन कानुन संशोधन आवश्यक भएको बताउनुभयो । डा. प्याकुरेलका अनुसार विभिन्न निकायले आआफ्नै ढङ्गले स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदा राज्यको स्रोतमा दोहोरोपन देखिएको छ । उहाँले कतिपय आधारभूत स्वास्थ्य सेवाका लागि मन्त्रालयले छुट्टै बजेट उपलब्ध गराउने र सोही सेवाबापत स्वास्थ्य संस्थाले स्वास्थ्य बिमा बोर्डमा समेत दाबी गर्ने अवस्था रहेको बताउनुभयो ।
विभिन्न निकायमार्फत स्वास्थ्य कार्यक्रम सञ्चालन हुँदा राज्यको स्रोतमा दोहोरोपन देखिएको छ,” अध्यक्ष डा. प्याकुरेलले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवाका कतिपय विषय बिमाले पनि समेट्दा एकातिर मन्त्रालयले बजेट पठाउने र अर्कोतिर अस्पतालले बिमा बोर्डमा पनि दाबी गर्ने अवस्था छ ।”
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयले स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग यस विषयमा चरणबद्ध छलफल गर्दै आएको छ । बिहीबार पनि मन्त्रालयमा सम्बन्धित निकायका प्रतिनिधिसँग थप छलफल भएको थियो । मन्त्रालयले स्वास्थ्य बिमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ ।
अध्यक्ष डा. प्याकुरेलका अनुसार विद्यमान ऐनले प्रतिव्यक्ति तीन हजार पाँच सय रुपियाँ योगदान र एक लाख रुपियाँसम्मको उपचार सुविधा निर्धारण गरेकाले आवश्यकता अनुसार फरक फरक बिमा योजना सञ्चालन गर्न बोर्डलाई कठिनाइ भइरहेको छ । उहाँले राज्यले सहिद परिवारलगायत लक्षित समूहलाई विशेष सुविधा उपलब्ध गराउन चाहेमा समेत नियमावली संशोधन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
संशोधनमार्फत यस्ता प्राविधिक विषयमा बोर्डलाई आवश्यकता अनुसार योजना तथा सुविधा निर्धारण गर्ने अधिकार दिने तयारी गरिएको छ । अध्यक्ष डा. प्याकुरेलले निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकायका कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई समेत स्वास्थ्य बिमामा अनिवार्य आबद्ध गराउने कानुनी व्यवस्था स्पष्ट पारिने छ ।
प्रस्तावित संशोधनमा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने, स्वास्थ्य संस्थाको सेवा सञ्जाल विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि समेटिएका छन् । मन्त्री मेहताले स्वास्थ्य बिमालाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्नुपर्ने बताउनुभयो । आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको उहाँको भनाइ छ ।
