काठमाडौँ, मङ्सिर ३ :मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप आज (बिहीबार) बिहान करिब ८ः३५ बजेतिर घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए । घाइतेहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९ः२० बजेतिर चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् । मृतकहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
