काठमाडौं , कात्तिक १७ : अगामी तिहारको धनतेरसलाई लक्षित गर्दै राष्ट्र बैंकले बिहीबारदेखि सुन-चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।अघिल्ला २ वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष सुनका सिक्का (असर्फी) पनि बिक्री गर्न लागेको हो ।
यस वर्ष सुनका असर्फी समेत बिक्री गर्ने उदेश्यले राष्ट्र बैंकले सुनका असर्फी टकामरी गरिरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘सुन अभावमा हामीले २ वर्षदेखि असर्फी टकामरी गर्न सकेका थिएनौं,’ उहाँले भन्नुभयो , ‘यसपटक भने वाणिज्य बैंकहरूसँग नै सुन किनेर भए पनि असर्फी बनाएर तिहारमा बिक्री गर्ने भएका छौं ।’
दसैंअघि नै राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी टकामरी गरिरहेको हो । नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् ।
यसअघि भने राष्ट्र बैंकले सरकारको मातहत आएको सुन खरिद गरेर असर्फी बनाउँदै आएको थियो । तर २ वर्षदेखि राष्ट्र बैंकमा रहेको सुन मौज्दात सकिएपछि यसपटक वाणिज्य बैंकसँग किनेर भए पनि असर्फी बिक्री गर्न लागिएको हो । अहिले भन्सार वा अन्य स्थानबाट बरामद पहेलो धातु (सुन) राष्ट्र बैंककै संरक्षण (कष्टडी) मा रहे पनि ती सम्बन्धमा अदालतहरूमा चलेको मुद्दा नटुगिंएकोले पनि राष्ट्र बैंकले यस्तो सुन खरिद गर्न सकेको छैन ।
वाणिज्य बैंकबाट खरिद गरेको सुनमा भने राष्ट्र बैंकलाई केही नोक्सान समेत हुन सक्छ । जफत भएर सरकार मातहत आएका सुन राष्ट्र बैंकले किन्दा किन्ने दिनको अन्तराष्ट्रिय मूल्यमा थप ५ प्रतिशत तिरेर किन्ने गर्थ्यो । अहिले वाणिज्य बैंकहरूले ल्याउने सुनमा भने अन्तराष्ट्रिय मूल्यबाहेक अतिरिक्त २० प्रतिशतभन्सार शुल्क समेत तिर्नुपर्ने भएकोले महँगो पर्ने भएको हो ।
राष्ट्र बैंकले यही बिहीबार र शुक्रबारबाट सुनका असर्फी र चाँदीका गणेश र लक्ष्मीको चित्र अंकित सिक्का बिक्री गर्ने भएको छ । असर्फी २.५ ग्राम र चाँदीका सिक्का १० ग्रामका हुने छन् । राष्ट्र बैंकले बिक्री गर्ने दिनकै अन्तराष्ट्रिय मूल्यका आधारमा असर्फी र चाँदीका सिक्काको मूल्य तोक्ने गर्छ ।
यद्यपि, सुनको असर्फीको लागि प्रतिसिक्का ६० देखि ७० हजार र चाँदीका सिक्का ४ हजार रूपैयाँभन्दा केही बढी मूल्य पर्नसक्ने राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले बिक्री गर्ने सुनको शुद्धता (हलमार्क) करिब ९९.४९ हुने बताइएको छ । यद्यपि, यहाँ परीक्षण गर्ने उपकरणले भने ९९.३९ प्रतिशतमात्र देखाउन सक्ने राष्ट्र बैंकको भनाइ छ ।
नेपालमा राष्ट्र बैंकले विशेष अवसरमा बनाइने सुनका असर्फी, चाँदीका सिक्का, मेडालियन तथा सामान्य मुद्राका सिक्काको माइनिङ गर्दै आएको थियो ।
