Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कसरी पत्ता लगाउने बाथरोग? लक्षण र बच्ने उपाय


सूचना कुण्ड
कसरी पत्ता लगाउने बाथरोग? लक्षण र बच्ने उपाय

काठमाडौँ, जेठ२२ : मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहँुचमा पुग्ने गरेका छन् । नेपालमा बाथरोग आफैँ निको हुन्छ भन्ने सोचका कारण पनि यसका बिरामी उपचारमा नआउने गरेका छन् ।    
    
 सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालका धेरैजसो बिरामी सही उपचारको पहुँचमा नआउने गरेका र उपचार सेवासम्म आइपुगेका करिब ४० प्रतिशत बिरामीले मात्र बाथरोगलाई आफ्नो नियन्त्रणमा राख्न सकेका देखिएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार अझै पनि नेपालमा बाथरोगका बारेमा जनचेतना जगाउनुुपर्ने खाँचो देखिएको छ । “औषधि सेवन गरेपछि बीचमा छाड्ने, आफैँ जडीबुटी गर्ने तथा आयुर्वेदलगायतका एलोपेथिक बाहेकका औषधि खाने जस्ता कारणले उपचारमा आएका सबै बिरामीको रोग नियन्त्रणमा आउन सकेको छैन” उहाँले भन्नुभयो, “बाथरोग आफँै निको हुन्छ भनेर बीचमा नै औषधि नखाने प्रवृत्ति पनि धेरैमा देखिएको छ ।”    
    
 बाथरोग नसर्ने दीर्घरोग भएकाले नियमित औषधि सेवन गरिरहनुपर्छ । त्यसैले जनचेतनाकोस्तर अझ बढाउनुपर्ने देखिन्छ । सेन्टरले बाथरोग पहिचानका लागि विभिन्न ठाउँमा शिविर राखेर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरिरहेको उहाँले बताउनुभयो ।    
    
 औषधिले पूरै निको हुँदैन तर नियन्त्रण गर्छ    
    
 उक्त बाथरोग विशेषज्ञ डा श्वेता नकर्मीले बाथरोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिने बताउनुहुन्छ । “बाथरोग नियमित औषधिबाट निको पार्न सकिन्न” उहाँले भन्नुभयो, “रोगलाई नियन्त्रण गरेर विरामीलाई पहिल्येकै अवस्थामा लैजान भने सकिन्छ । तर पनि यो रोगको असर भने सधैँ देखिरहन्छ ।”अन्य विभिन्न रोगको असरका कारण, वंशाणुुगत र वातावरणीय प्रभावका कारण नेपालमा बाथरोग लाग्ने गरेको देखिएको छ । बाथरोग विशेषज्ञ डा नकर्मी ‘अटोइम्युन डिजिज्’ का कारणले बाथरोग लाग्ने गरेको बताउनुहुन्छ ।    
    
 रोग प्रतिरोधात्मक क्षमतामा केही गडबडी आयो भने बाहिरी जीवाणुसँग लड्ने कोषिकाले आफ्नै शरीरको जोर्नी र अङ्गलाई नष्ट गर्न थाल्दछन् र त्यसबाट उत्पत्ति हुने रोगलाई नै बाथरोग भन्ने गरिएको उहाँ बताउनुहुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेशनल ¥युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा ¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज् (हाडजोर्नी र मांशपेशी दुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ । त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या देखिएको अध्ययनमा उल्लेख गरिएको छ ।    
    
 औषधि सधैँ सेवन गर्नुपर्छ    
    
 नेपालमा बाथरोगको उपचार त्यति महँगो नभए पनि आम नेपालीका लागि भने यसको उपचार महँगो नै हुने गरेको बताइन्छ । बाथरोग पहिचानका लागि गरिने इम्युनोलोजिकल परीक्षण गर्नुपर्दछ र यो केही महँगो छ ।    
    
 बाथरोग र यसका अनेक प्रकारको पहिचानका लागि गरिने स्वास्थ्य जाँच केही महँगो हुने गरेको प्रबन्ध निर्देशक कक्षपतिले बताउनुभयो । “बाथरोगमा जीवनभर औषधि सेवन गर्नुपर्छ । यसका लागि मासिक करिब एक हजार दुई सय रुपियाँ जति खर्च हुन्छ । यसरी एकजनाको परीक्षण र औषधि समेत गरी वार्षिक रु २० हजार भन्दा केही बढी खर्च हुनसक्छ” उहाँले भन्नुभयो । धुँलो धुँवा, चुरोट पिउने, मदिरा सेवन गर्ने, युरिक एसिड हुने खानेकुरा जस्तै बढी मात्रामा माछा, मासु र धेरै चिल्लो पदार्थ खाने, बढी तौल भएका व्यक्ति, दातँको र फोक्सोको समस्या भएका व्यक्तिहरुलाई बाथरोगको जोखिम बढी हुने गरेको चिकित्सकको भनाइ छ ।    
    
 बाथरोग गर्भमा रहेका बच्चादेखि सबै उमेर समूहमा लाग्ने गर्दछ । पाँचदेखि १५ वर्ष उमेरसमूहका बच्चालाई मुटुको वाथ ज्वरो बढी हुने गर्दछ ।    
    
 दुई किसिमका बाथरोग बढी    
    
 हाडजोर्नी खिइने रोग जुन बुढेसकालमा बढी हुने र आम बाथरोग गरी दुई किसिमका बाथरोग नेपालमा बढी देखिने गरेको डा नकर्मी बताउनुहुन्छ । तीमध्ये आमबाथ कडा खालको बाथ रोग हो ।    
    
 बाथ रोग लागेकामध्ये आम बाथरोग दुई तिहाई महिला र एक तिहाई पुरुषमा देखिने गरेको छ । चालीस वर्षभन्दा माथिका महिलालाई आम बाथरोग सुरु सुरुमा हाडजोर्नी दुख्ने, सुनिने, बिहान उठ्दा शरीर कक्रक्क पर्ने, मुठ्ठी पार्न र खोल्न गा¥हो हुने समस्या हुने गरेको छ । त्यसपछि बाथरोग कडा हुन थालेपछि ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, तौल घट्ने जस्ता लक्षण देखिन्छन् । त्यसपछि बाथरोगले फोक्सो, आँखा, मुटुमा असर गर्ने गर्दछ ।    
    
 विशेषज्ञ डा नकर्मीका अनुसार समयमै औषधि खाएन भने कालान्तरमा हातखुट्टाका जोर्नी बाङ्गो हुने, काम गर्न नसक्ने जस्ता समस्या हुने गर्दछ । बाथरोग सेन्टरले विगत १० वर्षदेखि काठमाडौँको रातोपुलगायत देशका विभिन्न आठ ठाउँ (ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङचोक, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुर) मा बाथरोग सेन्टर सञ्चालन गरेर बाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको र समय समयमा ती स्थान र अन्यत्र निःशुल्क शिविरको आयोजना गरेर बाथरोग पहिचान तथा जनचेतना जागृत गर्ने काम गर्दै आएको छ ।    
    
 बाथरोगका लक्षण    
    
 बाथरोग लागेपछि हातका औँला दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात, खुट्टा र जीउ गह्रुँगो भई अप्ठेरो हुने, खुट्टाका बुढीऔँला वरिपरि रातो भएर टेक्न नहुने, गोलि गाँठो दुख्ने र सुन्निने, राति र बिहान ढाड दुख्ने र अप्ठेरो हुने, घुँडा दुख्ने र सुनिने जस्ता लक्षण देखिन्छ । बाथरोगको प्रारम्भिक लक्षण बिहान उठ्दा हातका औँला खुम्च्याउन गाह्रो हुने र दुख्ने, त्यसपछि विस्तारै सुनिने गर्दछ । यो अवस्थामा स्वास्थ्य जाँच नगराई दुखाइ कम गर्ने औषधि सेवन गरेर बस्दा रोग छिप्पिदै जाने हुनसक्छ ।    
    
 यस्तै कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्रायः रातिको समयमा) वा झम्झमाउने, खुट्टा दुख्ने वा करकर खाने, जीउ गल्ने र छिटोछिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने, चिसोमा काम गर्दा हातखुट्टा निलो हुने आदि लक्षण बाथरोगका देखिन्छन् ।    
    
 बाथरोग सामान्य दुखाइदेखि डरलाग्दा किसिमका पनि हुने भएकाले बाथ लागेको शङ्का लागेपछि जतिसक्दो चाँडो परीक्षण गराउन यस रोगका विशेषज्ञ चिकित्सकहरुको सुझाव छ । सुरुमै रोगको पहिचान हुनसक्यो र औषधि सेवन गरियो भने यसको दीर्घकालीन असरबाट बच्न सकिने उनीहरु बताउँछन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend