Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हराउँदै रैथाने बालीको बीउ  


सूचना कुण्ड
हराउँदै रैथाने बालीको बीउ  

      
    सूचनाकुण्ड समाचारदाता, 

सुदूरपश्चिम, चैत २६ :   
कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहनुहुन्छ ।    
    
चार दशक अघिसम्म उहाँको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । अहिले हाइब्रिड जातको बाली लगाउँदा कृषि उपजको कमाइ केही बढ्ने गरेको देखिए पनि खानमा स्वास्थ्यकर र पोषिलो हुने रैथाने खाद्यान्नको बीउ हराउँदा चिन्ता भने उहाँलाई चिन्ता लागेको छ । उमेरले ६५ वर्ष पुग्नुभएका रानाले भन्नुभयो, “अहिले आधुनिक खेती प्रणालीको नाममा माटो र वात।ावरण बिगार्ने काम मात्र भइरहेको छ ।”    
    
 कञ्चनपुरका निरुप्रसाद चौधरी त्योबेला विषादी र रासायनिक मलको प्रयोग बिना खेती हुने रैथानेबाली अहिले हराइसकेको बताउनुहुन्छ । “रैथाने जातका धान गहुँलगायतका बालीको बीउ पाउनै मुस्किल भइसकेको छ”, उहाँले भन्नुभयो, “पहिलेको तुलनामा कृषियन्त्रको प्रयोगले भने काम गर्न सहज भएको छ ।”    
    
एक तथ्याङ्कका अनुसार मानिसले उपभोग गर्ने तरकारी र खाद्यान्नमध्ये हाइब्रिड जातको खाद्यान्नको उपभोग झण्डै ९० प्रतिशत छ । केवल दश प्रतिशतले मात्रै रैथाने साग तरकारी र अन्य खाद्यान्न उपभोग गरिरहेका छन् ।    
    
असन्तुलित रुपमा बालीमा विषादीको प्रयोग गरी उत्पादन हुने र विदेशबाट आयातित खाद्यान्नको उपभोग मानव स्वास्थ्यका लागि जोखिम हुनेसक्ने कृषि प्राविधिकको भनाइ छ । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले कृषि जैविक विविधतामा भइरहेको निरन्तरको ह्रासले गम्भीर समस्या निम्त्याउन सक्ने देखिएको बताउनुभयो । “हाल उपभोगमा रहेको तरकारीका जातमा झण्डै ९० प्रतिशत उन्नत (वर्णशङ्कर) छन्, दश प्रतिशत मात्र रैथाने छन्,” निर्देशक जोशीले भन्नुभयो, “वर्षौअघिसम्म खेती गरिने गुर्रा, राइमुनुवा, सौंँठेरी, जस्ता धानका रैथानेबाली लोप भइसकेका छन् ।”    
    
 जैविक विविधतामा धनी नेपाल हावापानीको दृष्टिमा पनि विश्वमै नमुनाको देशको रुपमा छ । वासस्थान विनास, आधुनिक खेती प्रणालीमा हुने गरेका कतिपय नकारात्मक अभ्यास र मानवसिर्जित विभिन्न कारणले कृषि जैविक विविधतालगायत समग्र जैविक विविधतामा ह्रास हुँदै गइरहेको छ । रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पु¥याउन नसकेमा कृषि पर्यावरणीय प्रणालीमा नै नकारात्मक असर पर्न गई समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्नसक्ने जानकारहरु बताउँछन् ।    
    
    
नेपालम रैथाने कृषि जैविक विविधता (बाली, घाँसे बाली, पशुपक्षी, जलियकिरा, सुक्ष्म जीवाणुजन्य अनुवांशिक स्रोत)मध्ये झण्डै ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ । सुदूरपश्चिममा कैलाली, कञ्चनपुरको पहिचानका रुपमा रहेको रैथाने जातको थारु आलु, डोटीको जोरायली बास्मति धान, हङ्सराज बास्मती धान, अनदी धानलगायतका रैथाने बालीको संरक्षण र प्रवद्र्धन जस्ता कृषिगतिविधि भइरहेका छन् ।    
    
कृषि जैविक विधताको महत्व र यसको संरक्षणको आवश्यकताबारे प्रचारप्रसार गर्न र सरोकारवालाई रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा सक्रियरुपमा लाग्न उत्प्रेरित गर्ने गराउने उद्देश्यले सरकारले चालु वर्षदेखि प्रत्येकवर्ष माघ १ गतेलाई राष्ट्रिय जैविक विविधता दिवस मनाउने घोषणा गरिसकेको छ ।    
    
यस अन्तर्गत जैविक स्रोतको संरक्षणका लागि कृषि वृक्षरोपण, महत्वपूर्ण रैथाने जातलाई सूचीकृत गर्ने, रैथाने बाली, जातका बीउ तथा रैथाने एवं परम्परागत प्रविधि÷सामग्रीको सङ्कलन र प्रदर्शन, रैथाने पशुपक्षीका रुपमा रहेका अछामी नौमुठे गाई, खैला तथा लुलुगाई, लिमे तथा पारकोटे भैँसी, खरी तथा सिन्हाल बाख्राहरु, लमपुछ«े, कागे, बारुवल तथा भ्याङ्लुङ भेडाहरु, प्वाँख उल्टे, घाँटी खुइले र साकिनी कुखुरा, जुम्ली घोडा, हुर्रा सुङ्गुर लगायतको संरक्षण र प्रवद्र्धनसम्बन्धी गतिविधि गरिने जनाइएको छ । लोपोन्मुख घाँसे बाली, मत्स्य प्रजातीको संरक्षका साथै प्राकृतिक जलायसयमा स्थानीय जातका माछाको उपलब्धता र पहिचानका लागि मत्स्य जैविक विविधताको अध्ययन, खाद्य मेला एवं रैथाने खानाको प्रचारप्रसार, विविधिकरण र बजारीकरणका साथै प्रोत्साहनमूलक कार्य पनि गर्न लागिएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend