Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

  ‘अरनिको राजमार्ग विस्तार निरन्तर’  


सूचना कुण्ड
  ‘अरनिको राजमार्ग विस्तार निरन्तर’  

  
   
काभ्रेपलाञ्चोक, वैशाख  १०: अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।    
    
बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचनाको निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेपछि करिब डेढ महिनादेखि निर्माण कार्य रोकिएको थियो । स्थानीयस्तरमा सरोकारवालाबीच भएको बैठकले तत्कालै मुद्दा फिर्ता लिने सहमति भएपछि निर्माणलाई निरन्तरता दिइने भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवाला एवं मुद्दा हाल्ने स्थानीयबीचको आइतबारको बैठकमा उक्त सहमति भएको हो ।    
    
यस्तै उक्त बैठकले हाल निर्माणाधीन कल्भर्टको पानीलाई व्यक्तिगत जग्गामार्फत निकास नगराई सडक सिमाभित्र छुट्टै ड्रेनमार्फत चण्डेश्वरी खोलामा निकासी गराउने तथा आवश्यकताअनुसार सिँचाइ निकासका लागि व्यवस्थापन गरी प्राविधिक विश्लेषणसहितको विकल्पमा सहमतिमा जाने निर्णय भएको छ ।    
    
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अदालतको मुद्दा फिर्ता लिने र निर्माणाधीन कल्भर्टबाट पानीलाई ‘डाइभर्ट’ गरी खोलामा मिसाउने सहमति भएपछि आयोजनाको निर्माणकार्यले निकास पाएको बताउनुभयो । उहाँका अनुसार मुद्दा फिर्ता लिएलगत्तै निर्माणकार्यले निरन्तरता पाउने भएको हो ।    
    
बनेपा नगरपालिका–६ बुडोलका १३ जनाले सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्र दास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाई गत फागुन २० गते रिट दर्ता गरेका थिए । दर्ता गरिएको रिटमा फागुन २१ गते नै प्रारम्भिक सुनुवाइ भएको थियो    
    
विसं २०१६ मा सडक निर्माणका बेला खेतका लागि पानी निकास गर्न राखिएको ह्युमपाइपसहितको ढलको स्थानमा हाल सडक विस्तारका क्रममा नयाँ डिजाइनमा कल्भर्ट निर्माण गरिएको थियो । हाल बस्ती विकास भए पनि उक्त कल्भर्टबाट पानी निकास हुँदा सडकको तल्लो क्षेत्रको बस्तीमा क्षति पुग्ने जनाउँदै स्थानीयले रिट दर्ता गरेको थिए । उक्त क्षेत्रको निर्माणकार्य रोकिँदा ‘डाइभर्ट’ गरिएको सडकमा दुर्घटनासमेत हुँदै आएका छन् भने पानी परेका बेला यातायात आवतजावत हुन नसक्दा राजमार्गनै बन्द हुने गरेको छ ।    
    
तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव ४ किमी सडकखण्ड रु चार अर्ब पाँच करोड ६४ लाखमा निर्माण थालिएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend