Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित 


सूचना कुण्ड
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित 

   

काठमाडौँ, वैशाख ८ :  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ ।    
    
लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।    
    
तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणामुखी र सफल तुल्याउँँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारीपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।    
    
एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जवाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।    
     
यस्तै प्रविधिक शिक्षाको विस्तार र लैङ्गिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधिनताका आधारमा सृदृढ बनाउन एमालेको जोड रहेको छ । ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । परिषद् बैठकमा आज प्रतिवेदन र श्रव्यदृष्य सामग्री प्रस्तुतिको क्रम रहेको छ भने आइतबार समूहगत छलफल र पारित हुनेछ ।    
    
परिषद् बैठकमा सहभागी दुई हजार चार सय ५४ प्रतिनिधिमाझ अध्यक्ष ओलीबाट प्रस्तुत प्रतिवेदनमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको (मूल्याङ्कन), कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधन र निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा कार्यकर्ताबाट व्यापक छलफलसहित सुझावको अपेक्षा गर्नुभएको छ ।    
    
अध्यक्ष ओलीले मुलुकमा बढ्दो चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा उत्पन्न सङ्कट र रोजगारीका क्षेत्र साँघुरिएका अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा छाएको टिप्पणी गर्दै यसलाई वर्तमान सरकारले चिर्नुपर्नेमा जोड दिनुभयो ।    
    
पूर्वप्रधानमन्त्री ओलीले यस स्थितिले सिर्जना गरेको असन्तुष्टिलाई एकातिर लोकप्रियतावाद र पुरातन तथा दक्षिणपन्थी शक्तिले प्रयोग गर्न सक्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष राष्ट्रिय समस्याको समाधानमा संवादमा माध्यमबाट एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।    
    
गत २०७८ मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि आन्तरिक र बाह्य सङ्कट व्यहोरेको एमालेले सत्ता हाल आफूलाई सहज स्थितिमा कायम गर्न सकेको विश्लेषण गरेको छ । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्तावेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ ।    
    
पार्टीका महासचिव पोखरेलको साङ्गठनिक प्रतिवेदनमा कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधनलगायत विषयलाई विद्यमान समस्या र चुनौतीका रुपमा प्रस्तुत गरिएको छ ।    
    
 उच्च प्रविधियुक्त व्यवस्थापनमा भइरहेको परिषद् बैठकमा यसबीचमा पार्टीले चलाएको ‘मिसन ग्रासरुट’ अभियान, ‘झुलाघाट–चिवाभञ्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ जस्ता कामको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निष्कर्ष निकालिने महासचिव पोखरेलले बताउनुभयो ।    
    
 उहाँले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।    
    
दुई महाधिवेशनका बीचमा हुने ठूलो निकायका रूपमा रहेको परिषद् बैठकले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ दशौँ महाधिवेशनबाट चुनिएको नेतृत्वका कामको समीक्षासहित भावी कार्यदिशा तय गर्ने सो पार्टीका सचिव योगेश भट्टराईको भनाइ छ ।    
    
परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् । बैठकबाट वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना छलफलसहित पारित गराउने तयारी रहेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।     
    
 सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुको उपस्थिति रहने जनाइएको छ ।     
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend