काठमाडौँ, असार २९ : प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा परामर्श भएको छ । उहाँहरूबिच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको छ ।
पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबिचको भेट नियमित हो । उहाँले भन्नुभयो, “सरकार र पार्टी सञ्चालन, समसामयिक विषयमा छलफलको सिलसिला नियमित चलिरहन्छ । यद्यपि प्रधानमन्त्री र सभापतिबिचको छलफलबारे पूर्ण अपडेट छैन । पक्कै नियमित बैठक नै हो ।”
रास्वपाले केन्द्रीय समितिलाई पूर्णता दिएर सङ्गठनलाई सशक्त बनाउने तयारी थालेको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनपछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडास्तरसम्मै द्रुततर एवं प्रभावकारी बनाउनेतर्फ केन्द्रित गरेको हो । असार ७ देखि १२ गतेसम्म चितवनमा आयोजित प्रथम महाधिवेशनपछि बलियो साङ्गठनिक आत्मबल लिएर फर्किएको रास्वपा नेतृत्व र कार्यकर्ता पङ्क्ति साङ्गठनिक पुनर्जागरणमा जुटेको हो ।
प्रतिनिधि सभाको पहिलो दल रास्वपाले महाधिवेशनमा देशको आर्थिक विकास र सुशासनका लागि आगामी रणनीतिक कार्यदिशासहित समग्र रूपान्तरणका मुद्दामा विमर्श गरेको छ । महाधिवेशनमा पारित दस्ताबेजमा राजनीतिक स्थायित्व र सुशासनको मार्गचित्र प्रस्तुत गरिएको छ । पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य बुर्लाकोटी, केन्द्रीय सदस्य इन्दिरा रानामगर र रास्वपाकै साउदी अरेबियास्थित प्रवास विभाग प्रमुख भूपाल भण्डारीले महाधिवेशनपछि पार्टीका हरेक समितिमा नवीन उत्साहको सञ्चार भएको बताउनुभयो ।
पूर्वमहामन्त्री बुर्लाकोटीले पार्टी अब साङ्गठनिक सुदृढीकरणसँगै नागरिकका दैनिक समस्या समाधानमा केन्द्रित हुने बताउनुभयो । उहाँले स्थापनाको छोटो अवधिमै रास्वपाले लिएको आकार र जनविश्वास उत्साहजनक रहेकाले त्यही जिम्मेवारी पूरा गर्न सङ्गठन बलियो बनाउने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पहिलो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि कार्यकर्ता र नेतृत्वमा नयाँ आत्मविश्वास र उत्साहको सञ्चार भएको छ । अब हामी गाउँ गाउँ पुगेर जनताका आवाज सुन्न तयार छौँ ।”
पूर्वउपसभापति एवं रास्वपा केन्द्रीय सदस्य रानामगरले पहिलो महाधिवेशन सम्पन्न भएसँगै पार्टीले नयाँ साङ्गठनिक ऊर्जा प्राप्त गरेको बताउनुभयो । उहाँले महाधिवेशनलाई एउटा ‘महामिलन’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “यो महाधिवेशन मेरा लागि एउटा ठुलो महामिलन जस्तो भयो । बर्सौंदेखि नभेटिएका साथी र देशका दुर्गम क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर जु¥यो । यसले पार्टीभित्र एउटा बलियो भावनात्मक सम्बन्ध तयार गरेको छ ।”
साउदी अरेबियास्थित प्रवास विभाग प्रमुख भण्डारीले नेपालका सात प्रदेशबाहेक विदेशमा रहेका ठुलो सङ्ख्याका नेपालीलाई सम्बोधन गर्न रास्वपाले प्रवास सङ्गठनलाई ‘आठौँ प्रदेश’ का रूपमा वैधानिक मान्यता दिएकाले रोजगारीका लागि देशबाहिर रहेका नेपालीले पनि महाधिवेशनमा भाग लिन पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालभित्र मात्र होइन, प्रवासबाट पनि नयाँ नेतृत्व जन्माउन र उनीहरूको ज्ञान तथा सिपलाई मुलुकको राजनीतिमा जोड्न सहयोग पुग्ने गरी रास्वपाले नयाँ अवधारणा बनाएको छ । यसरी प्रतिनिधित्व हुँदा देशसँगै विदेशमा रहेका समर्थक एवं शुभेच्छुकमा उत्साह भर्न पार्टी नेतृत्व सफल भएको छ । महाधिवेशनले रास्वपालाई केवल एक राजनीतिक दलका रूपमा मात्र नभई एक नवीन विचार र सङ्गठनात्मक पद्धतिका रूपमा स्थापित गरेको छ ।”
