Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

टरवाइनको परीक्षण अन्तिम चरणमा  


सूचना कुण्ड
टरवाइनको परीक्षण अन्तिम चरणमा  

  

रसुवा, चैत१५ : उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ ।    
    
 स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले निर्माण गरेका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो ।    
    
 तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न भइसकेको र बाँकी एकको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेका अनुसार रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने कार्य, बालुवा थिग्रयाउने, तीन पोखरी तथा रेडरेस एवं पेनस्टक सुरुङ र विद्युत्गृहसमेतका संरचना सम्पन्न गरी जडान गरिएका सबै उपकरणको परीक्षणमा पूर्ण रूपको सफलता मिलेकाले हालसम्म कार्यरत प्राविधिक उत्साहित भएका छन् ।    
    
 सो हाइड्रोपावरले वार्षिक रूपमा ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताउनुभयो । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दा वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदको याममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिट प्राप्त हुने बताइएको छ ।    
     
 निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन् । राष्ट्रिय प्रसारण लाइन निर्माणका लागि प्राविधिक तथा मजदुर अहोरात्र खटिरहेका छन् ।     
    
 नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण लाइन महाशाखा प्रमुख थर्कबहादुर थापाका अनुसार टावर निर्माणकार्य द्रुत रूपमा अगाडि बढिरहेको छ । दैनिक रूपमा पाँच सय ५० मजदुर तथा दर्जनौँ प्राविधिकले रसुवाका डाँडापाखामा काम गरिरहेका छन् ।    
    
 उहाँका अनुसार समग्रमा टावर निर्र्माणको प्रगति ९५ प्रतिशत पूरा भइसकेको छ । अब एक महिनाभित्र रसुवागढीले उत्पादन दिने तर राष्ट्रिय प्रसारण लाइन भने कहिलेसम्म तयार हुन्छ भन्ने जानकारी प्राप्त भएको छैन ।    
    
 थाम्वुचेतबाट त्रिशूलीसम्म २८ किमी र त्रिशूलीबाट मातातीर्थसम्म ४८ किमी दूरी रहेको छ । निर्माण गर्नुपर्ने राष्ट्रिय प्रसारण लाइनका ७५ टावरमध्ये भौगोलिक विकटताका कारण अब निर्माण पूरा गर्न बाँकी १० वटा रहेका जनाइएको छ । ती टावरको काम यथाशक्य छिटो सम्पन्न गराउन प्रसारण महाशाखाका सम्पूर्ण प्राविधिक रसुवा केन्द्रित भइरहेको बताइएको छ ।    
    
 निर्माणको चरणमा रु १३ अर्ब ६० करोडको लागत अनुमानबाट सम्पन्न हुने सुरुको प्रक्षेपण गरिएको भए पनि भौगोलिक विकटता बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, भूकम्प, कोभिड–१९ महामारीजस्ता विविध कारणले निर्माणमा ढिलाइ हुँदा वर्तमान अवस्थाको लागत ब्याजबाहेक रु १८ अर्ब ४७ करोडको हाराहारीमा खर्च हुने जनाइएको छ ।    
    
 वातावरणीय प्रभाव मूल्याङ्कनको सामाजिक कार्यअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाले थुप्रै काम सम्पादन गरेको छ । सम्पादित काममा टिमुरेको तल तातोपानी पोखरी र पाटी निर्माण, टिमुरे गाउँमा भित्री सडक तथा नाली निर्माण, टिमुरे–खैदी बाटो, तातोपानी–दालगाउँ सडक, रोङ्गा–थुमन सडक, थुमन गाउँमा गुम्बा, फोहर व्यवस्थापन गर्न टिमुरेमा ल्याण्डफिल साइट, धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका लागि तीनतले कार्यालय भवन निर्माणलगायत आकस्मिक रूपमा परिआउने दर्जनौँ काम निर्माण सम्पन्न गरिसकेको र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत सहयोग गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।    
    
 वर्षायाममा स्याफ्रु–रसुवागढी खण्डको सडक दैनिक अवरुद्ध भइरहँदा आयोजना निर्माणको समयदेखि नै जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा रसुवागढी जलविद्युत् आयोजनाले सडकको अवरोध हटाएको थियो ।    
    
 नेपाल–चीनको आयात तथा निर्यात हुने मालसामान बोकेका कन्टेनर गुडाउन र स्थानीय बासिन्दाको आवतजावतमा सहज पारेर सडक यातायात सञ्चालनको सहजताले भन्सारको राजस्व असुलीमा सहयोग पुग्दै आएको गोसाइँकुण्ड गाउँपालिका–२ को कार्यालयले जनाएको छ ।    
    
 यस्तै रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन माथिल्लो र तल्लो साञ्जेन–२ जलविद्युत् आयोजनामध्ये १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनबाट विद्युत् उत्पादन भई उत्पादित विद्युत् चिलिमे केन्द्रको हवबाट राष्ट्रिय प्रसारण लाइनमा पठाइसकिएको छ ।    
    
 यसैगरी ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको पनि निर्माण कार्य पूरा भई उपकरण तथा संरचना परीक्षण कार्य भइरहेका कारण सो आयोजनासमेत राष्ट्रिय प्रसारण लाइनको पर्खाइमा रहेको प्राविधिकले बताएका छन् । राष्ट्रिय प्रसारण लाइनको काम यति समयसम्म सकिन्छ भन्ने जिम्मेवार प्राविधिकले अझै टुङ्गो लगाउन सकेका छैनन् ।    
    
 अब निर्माणको चरणमा अगाडि बढेका आयोजनालाई निर्माण भइरहेको राष्ट्रिय प्रसारण लाइनले साञ्जेन र रसुवागढीका अलावा २० मेगावाट लाङ्टाङ खोला, एक सय २० मेगावाट भोटेकोशी, दुई सय १६ मेगावाट अपरत्रिशूली–१, छ मेगावाट सुपर मैलुङ, ७३ मेगावाट सालासुङ्गी, १४ दशमलव तीन मेगावाट माथिल्लो मैलुङ, २० मेगावाट फलाखु खोला, ३७ दशमलव तीन मेगावाट त्रिशूली थ्रीबीका विद्युत् एकीकृत रूपमा केन्द्रीकृत गरी राष्ट्रिय प्रसारण लाइनमा पठाउन सहज हुने प्राविधिकले बताएका छन् ।    
    
 यसभन्दा अगाडि निर्माण भएको २२ मेगावाट चिलिमे, पाँच मेगावाटको मैलुङ दोभान, १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, २२ मेगावाटको चिलिमे विद्युत् स्याफ्रुबेँसी–माद्रेढुङ्गा ३८ किमी दूरीको राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् प्रवाह भइरहेको बताइएको छ । चिलिमेबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजान निर्माण गरिएको लाइनलाई दीर्घकालीन सोचले बढी पावरको लाइन निर्माण हुन नसक्दा पछिल्लो समय उत्पादित बिजुली प्रसारण गर्न समस्या आएको बताइएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend