Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बदाम बेचेर नमुना उद्यमी बन्नुभएकी ७२ वर्षीया शिवमाया  


सूचना कुण्ड
बदाम बेचेर नमुना उद्यमी बन्नुभएकी ७२ वर्षीया शिवमाया  

भोजपुर, चैत ११  : बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उहाँ हाटबजारमा बदाम बेच्न पुग्नुहुन्छ । बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । पैतालीस वर्षअघिदेखि बदामको व्यापार थाल्नुभएकी उहाँ अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जानुहुन्छ ।    
    
“आफूले सकेको काम गर्नुपर्छ”, वृद्धा कार्कीले भन्नुभयो, “धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ । गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा रु १५ देअि २० हजारसम्म आम्दानी हुन्छ ।” जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उहाँले बताउनुभयो । किसानले उत्पादन गरेको बदाम प्रतिपाथी रु तीन सयमा खरिद गर्दै आएको उहाँले बताउनुभयो । आफूले खरिदपश्चात भुटेर प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्ने उहाँले जानकारी दिनुभयो । “बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउदै आएकी छु, दुई–चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ”, उहाँले भन्नुभयो ।    
    
किसानबाट एक वर्षमा रु चार लाखसम्मको बदाम खरिद गर्ने उहाँले बताउनुभयो । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उहाँले बदाम बेच्दै आउनुभएको छ । वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उहाँले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गर्नुभयो ।    
    
विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उहाँको अनुभव छ । “विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ । स्थानीय सरकारले बदाम खेती प्रवद्र्धन गर्नुपर्छ ।”    
    
गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका–६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताउनुभयो । पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिदै गएको उहाँले बताउनुभयो । “बदामखेती व्यावसायिक बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “व्यावसायिक बन्न नसक्दा पछिल्लो समय खेती घट्दै गएको छ । म एक वर्षमा ४५ मुरीसम्म बदाम फलाउँछु । सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन तर धेरै किसानले यसको खेती छाड्दै गएकाले उत्पादन घटेको छ ।” बगर क्षेत्रमा बदाम खेती उपयुक्त भएको उल्लेख गर्दै किसान राईले भन्नुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend