Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अरुण तेस्रोको ७० प्रतिशत काम सकियो


सूचना कुण्ड
अरुण तेस्रोको ७० प्रतिशत काम सकियो

    

सङ्खुवासभा  फागुन ३० :  सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।    
    
आयोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खनिसकिएको सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले राससलाई जानकारी दिनुभयो । बाँधस्थलबाट विद्युत् गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ ।    
    
 यसैगरी चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण भइरहेको छ । परियोजनामा कुनै अवरोध नभएमा अबको करिब दुई वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ ।    
    
परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख गरिएको छ । पिडिएअनुसार परियोजनाबाट रु एक अर्ब ६० करोड स्थानीयलाई शेयर दिइने छ ।    
करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ । अरुण तेस्रो परियोजनामा नेपाली भारतीय सहित चार हजार कामदार कार्यरत छन् ।    
    
जलविद्युत् उत्पादनको केन्द्र मानिएको सङ्खुवासभाको अरुण नदीमा अहिले चार वटा ठूला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । किमाथाङ्का अरुण, माथिल्लो अरुण, अरुण तेस्रो र तल्लो अरुण परियोजना निर्माण भएपछि तीन हजार ८४ मेगावाट बिजुली उत्पादन हुनेछ ।    
    
    
अरुण तेस्रोकै ढाँचामा सतलजले तल्लो अरुण ६ सय ६९ मेगावाट निर्माणका लागि मुआब्जा वितरणको तयारीमा छ । यी दुवै आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क पाउने छ । माथिल्लो अरुण एक हजार ६३ मेगावाटको विद्युत् आयोजना निर्माणको जिम्मा भने नेपाल विद्युत् प्राधिकरणले पाएको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । किमाथाङ्का अरुणबाट चार सय ५४ मेगावाट बिजुली निस्कन्छ । यसका लागि दुई सय ९० रोपनी जग्गा अधिग्रहण भइसकेको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend