Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी 


सूचना कुण्ड
अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी 

   
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, पुस २८  : मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ ।    
    
 कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । विमानस्थलबाट एक वर्षको अवधिमा अन्तरराष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।    
    
 महाप्रबन्धक तिवारीले अन्तरराष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिनुभयो । कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ ।    
    
 सन् २०२३ मा अन्तरराष्ट्रिय उडान अवतरण ३१ हजार चार सय ६० (गत वर्षको तुलनामा २९ दशमलव ४० प्रतिशतले) वृद्धि भएको छ । जुन कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटेको छ । उक्त अवधिमा कार्गो आवागमन २२ हजार नौ सय ४६ टन भएको छ । जुन गत वर्षको तुलनामा १३ दशमलव ९८ प्रतिशतले घटेको छ ।    
    
 आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ । जुन गत वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशत कम हो । उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार नौ सय ८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ ।    
    
 आन्तरिकमा कार्गो आगमन गत वर्षको तुलनामा १० दशमलव ३६ प्रतिशतले वृद्धि भई तीन हजार ४२६.८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताउनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन्भने अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।    
    
 नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक गत मङ्सिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend