Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’   


सूचना कुण्ड
‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’   


सूचनाकुण्ड समाचारदाता  
तुलसीपुर (दाङ), मङ्सिर१६ : सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ ।    
    
 नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा ‘सिकलसेल कुण्डली’ मिलाउनु नै रहेको तुलसीपुर उपमहानगरका उपप्रमुख श्यानी चौधरीले बताउनुभयो । थारू समुदायमा देखिएकाले यो रोग नयाँ पुस्तामा नसार्नका लागि विवाह गर्दा रोगी भएका व्यक्तिले अर्को रोगी भएका व्यक्तिसँग विवाह गर्न नहुने कुरामा सबैलाई सचेतना दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।    
    
 “अहिले पनि सिकलसेल रोगी तथा वाहक (सिकलसेलको आधा देखिएको अवस्था) भएकाले अर्को रोगी तथा वाहक भएकासँग बिहे गर्दा सन्तानलाई पनि सताउने गरेको छ”, चौधरीले भन्नुभयो, “त्यसैले गाउँ–गाउँ र टोलटोलमा गएर यो विषयमा सचेतना दिनुपर्छ ।” यो रोगले थारू समुदायलाई निकै सताएको भन्दै अब पनि यो विषयमा सचेतना प्रदान गर्न नसकिएमा यसले थारू समुदायको अस्तित्व नै खतरा पार्न सक्ने भएकाले सबै तहका सरकारले चेतनामूलक कार्यक्रमलाई व्यापक बनाएर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।    
    
 “रोगी पुरुषले रोगी महिलासँग विवाह गरेमा यो रोग सन्तानमा पनि सर्छ । त्यस्तै वाहक पुरुषले बिरामी महिला तथा बिरामी पुरुषले वाहक महिलासँग बिहे गर्दा पनि सन्तानमा यो रोग सर्ने गर्दछ”, उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले भन्नुभयो । यो कुरा सबैमा जानकारी नहुँदा अहिले पनि बिरामी–बिरामीबीच विवाह भइरहेकाले समस्या थप जोखिम बन्दै गएको उहाँको भनाइ थियो ।    
    
 न्यौपानेका अनुसार बिरामी पुरुष वा महिलाले सामान्यसँग बिहे गरेमा बच्चामा यो रोग सर्दैन । साथै आमा वा बुबा वाहक भएमा पनि सामान्यसँग बिहे गर्दा बच्चामा रोग नसर्ने उहाँले बताउनुभयो । यो विषयमा कुरा थारू समुदायको गाउँ–गाउँमा गएर जनचेतना दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।    
    
 आज अप्टिमिष्ट क्लब तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरको सहयोगमा तुलसीपुर–७ मोतिपुरको थारू बस्तीमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । क्लबका अध्यक्ष कमल सापकोटाले जनचेतनामूलक कार्यक्रम जिल्लाका सबै थारू बस्तीमा आयोजना गर्ने गरी सुरुआत गरिएको बताउनुभयो ।    
    
 दाङका थारू समुदायमा सिकलसेल भयावह अवस्थामा रहेको र उपमहानगरका स्वास्थ्य महाशाखाका फोकल पर्सन विमल केसीले बताउनुभयो । सिकलसेल पीडितलाई राज्यले एक लाखसम्मको उपचारको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । गाउँ–गाउँमा रोग पत्ता लगाउनका लागि स्क्रिनिङ गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।    
    
 हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको स्क्रिनिङ भइरहेको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दाङमा गएको वर्षमा दुई हजार आठ सय दुई जनामा गरिएको स्क्रिनिङमा ३७ जनामा सिकलसेल भेटिएको थियो भने तीन सय २८ जनामा वाहक देखिएको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend