Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चिकित्सक सङ्घको आन्दोलन स्थगित, छ बुँदे सहमति 


सूचना कुण्ड
चिकित्सक सङ्घको आन्दोलन स्थगित, छ बुँदे सहमति 

   
       
काठमाडौँ, माघ २९ : नेपाल चिकित्सक सङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।    
    
 सरकार र सङ्घबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तापछि छ बुँदे सहमति भएको र आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ–आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने निर्णय भएको वार्ता टोलीमा सहभागी सङ्घका पूर्वअध्यक्ष डा मुक्तिराज श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।    
    
 सङ्घ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएको थियो । वार्तामा माघ २७ गते दिनको ४ः१५ बजे राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाबारे वार्ता टोलीबीच छलफल भएको र घटनामा घाइते हुनुभएका चिकित्सकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।    
    
 सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ ।    
    
 वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको छ ।    
    
 सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।    
    
 सहमतिपत्रमा नेपाल चिकित्सक सङ्घका अध्यक्षबाट अध्यक्ष डा लोचन कार्की र सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गर्नुभएको छ ।     
    
वार्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, गृहमन्त्रालयका प्रतिनिधि जितेन्द्र बस्नेत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि डा रुद्र मरासिनी, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की, नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा मुक्तिराम श्रेष्ठ तथा नेपाल चिकित्सक सङ्घका महासचिव डा बद्री रिजालको उपस्थिति थियो ।    
    
 अन्य प्रतिनिधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, उपत्यका प्रहरी कार्यालय काठमाडौँका प्रहरी अतिरिक्त महानिरिक्षक दिवेश लोहनी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत सागर अधिकारी हुनुहुन्थ्यो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend