Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु  


सूचना कुण्ड
  विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु  

  
 सूचनाकुण्ड समाचारदाता  
चितवन, असोज१२ : खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उहाँहरुको भनाइ छ ।    
    
 भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए÷नभएको ख्याल गर्नुपर्ने बताउनुहुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उहाँको भनाइ छ ।    
    
 उहाँले भन्नुभयो, “जोखिमका तत्व पहिचान गरेर मुटुरोगबाट सुरक्षित रहन सकिन्छ ।” धूमपान, मद्यपानलगायतका बानी व्यहोरामा सुधार गर्नुपर्ने उहाँको सुझाव छ । शारीरिक व्यायाममा ध्यान दिन, मोटोपना घटाउन, तनाव कम गर्न, मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप भएमा त्यसको नियमित औषधि सेवन गरेर व्यवस्थापन गर्न उहाँले सुझाव दिनुभयो ।    
    
 मुटुको बाथको रोग, जन्मजात रोगहरु छन् भने त्यहीअनुसार व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “समयमा ध्यान दिनसके मुटुरोग लाग्नबाट बच्न सकिन्छ, लागिसकेपछि पनि जोगिन सकिन्छ ।”    
    
 चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा शङ्कर लौडारी मुटुरोग लाग्नुभन्दा पहिले नै सर्तक हुन सक्यौँ भने मुटुरोगबाट बच्न सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धूमपान, अत्यधिक मद्यपान लागुऔषधजस्ता कुलत छन् भने बन्द गर्नुपर्छ, यस्ता वस्तुबाट टाढा बस्दा एकदेखि दुई वर्षमा पहिलेकै अवस्थामा फर्कन सकिन्छ, तर रोग धेरै नै बढिसकेको छ भने पूर्ववतः अवस्थामा फर्कन गाह्रो पर्छ ।”    
    
 चिकित्सकको सल्लाहबिना अनावश्यक औषधि धेरै प्रयोग र शारीरिक व्यायामको अभावका कारण मुटु रोग बढ्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फलफूल, तरकारी, प्रोटिनको मात्रा अलि बढी खाने, कार्बोहाइडे«ट मात्रा कम गर्ने, चिल्लो खानेकुरा कम गर्ने, एन्टिअक्सिडेन्टल चीजहरु धेरै खाने, आवश्यक परेको बेला भिटामिन पनि खान सकिन्छ, यी खानेकुराले मुटुलाई फाइदा गर्छ ।”    
    
 मुटुको केही रोगहरु देखियो र शङ्का लाग्यो भने नजिकको मुटुरोग चिकित्सकलाई देखाउन उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बढ्दो उमेर, धूमपानको प्रयोग, अत्यधिकमात्रामा मद्यपान, उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोरललगायत वायु प्रदूषणलाई पनि मुटुरोगका कारक मानिन्छ ।”    
    
 चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा विष्णुमणि धितालले मुटुरोगका सामान्य लक्षण पहिचान गरेर समयमै उपचार गर्न सुझाव दिनुभयो । उहाँका अनुसार छातीको बिच्चको भागमा लामो समयसम्म दुख्ने, केही काम गर्दा, उकालो चढ्दा वा धपेडी भएको बेला छाती गह्रुँगो हुने, केही कुराले थिचेको जस्तो हुने मुटुरोगका लक्षण हुन् ।    
     
 यसैगरी पोलिरहेको जस्तो महसुस हुने, त्यो दुखाइ कहिलेकाहीँ दायाँतिर, कहिले बायाँतिर र कहिलेकाहीँ पछाडितिर सर्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो भएको महसुस हुने पनि मुटुरोगका लक्षण भएको उहाँको भनाइ छ ।    
    
 चिकित्सकले मुटुरोगको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन् । केही वर्षअघिसम्म राजधानी केन्द्रित मुटुको उपचार अहिले चितवनसहित मोफसलका जिल्लामा उपलब्ध छन् । हृदयाघातजस्ता समस्या आउँदा तत्काल उपचारका लागि क्याथल्याबसहितको सुविधा पनि उपलब्ध छ । सहरमा केन्द्रित यो रोग पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा समेत पुगेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend