Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा  झुट  हो , अध्यक्ष लिङ्देन  


सूचना कुण्ड
कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा  झुट  हो , अध्यक्ष लिङ्देन  

सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, भदौ१२,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताउनु भएको छ ।    
    
 यूएई र साउदी अरबको भ्रमणबाट आज स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भन्नुभयो, “कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले सभामुख र एउटा मन्त्री लिने र राप्रपाले अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुङ्गो लाग्यो भन्ने जस्ता प्रचार भए । प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट कुरा हो ।”    
    
 संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको अध्यक्ष लिङ्देनले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा सभामुख फालाफाल छ । सभामुख लिन कसैसँग कुनै सहमति आवश्यक पनि छैन, हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति भएको होइन ।”    
    
 उहाँले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोड्न नमिल्ने जिकिर गर्नुभयो । उहाँले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको समेत जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौँ भने सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ ।”    
    
 अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको र आफूहरुको दलको हैसियतअनुसार समिति सभापति लिएको स्पष्ट पार्नुभयो । पुस १० को गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अङ्कगणितलाई हेरेर आफूहरुले नलिएको उहाँको कथन छ ।    
    
 यसैगरी अध्यक्ष लिङ्देनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसङ्ख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको टिप्पणी पनि गर्नुभयो । उहाँले बहुसङ्ख्यक नेपाली जनताको आस्थामा चोट पुग्नेगरी भइरहेको क्रियाकलापमा सरकारी उदासीनता चिन्ताको विषय हो भन्नुभयो । उहाँले भन्नुभयो, “धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सबै धर्मलाई बराबरी सम्मानसहितको हिन्दूराष्ट्र देशको आवश्यकता हो ।”     
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend