Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

     तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती  


सूचना कुण्ड
     तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती  

सूचनाकुण्ड समाचारदाता  
गण्डकी, साउन २७ : कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण वर्षेनी परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गर्नुभएको छ ।    
    
 समाजका वास्तविकतालाई विभिन्न तीज गीतमार्फत प्रस्तुत गर्दै आउनुभएकी वाग्लेले यस वर्ष ‘कृषि प्रधान देश’ र ‘फेरि पनि आयो तीज मन दुखाउन’ शीर्षकका दुुई गीति एल्बम सार्वजनिक गर्नुभएको छ ।    
    
 “कृषि प्रधान देश हाम्रो खेतबारी बाँझै छन् ।    
 कति दुःख गरियो याद ताजै छन् ।।”    
    
 गीतबाट सुरु उहाँको ‘कृषि प्रधान देश’ गीति एल्बममा कृषि पेसाप्रतिको अनिच्छाले हामीलाई वर्षेनी परनिर्भरतातर्फ डो¥याएको उल्लेख गरिएको छ ।    
    
 परम्परागत कृषि प्रणाली तथा उपकरण पछिल्ला पुस्ताका लागि नौला बन्दै गएकाले यी सामानलाई चिनाउनका लागि सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएको भन्दै गीतमा    
 “हलो जुवा स्याखु खत्री नामै नौला भैसके ।    
 म्युयिममा राख्नुपर्ने बेला आइसके ।।” भनिएको छ ।    
    
 रोपाइँ गर्न भ्याइनभ्याइ हुने गरेको विगतको अवस्था र अहिले रोपाइँ महोत्सवका रुपमा मनाउने गरिएको विषयलाई गीतमा समेट्दै,    
 “बासी हिलो रोप्न जान्थेम आँखा मिच्दै निन्द्रैमा ।    
 अहिले ठूलै नाटक हुन्छ असार पन्ध्रमा ।।    
 मन्त्री आउँछन् झण्डा हल्लाई असार पन्ध्र मनाउन ।    
 गमलामा धान रोपी किसान जनाउन ।।” उल्लेख गरिएको छ ।    
    
 किसानले खेती गर्न समयमा पर्याप्त मल, बीउ नपाउने गरेको कुरा खोतल्दै गीतकार वाग्लेले    
“किसानले खेती गर्दा मल बीउ नपाउने ।    
सरकारको बजेट आउँछ बाँदर धपाउने ।।” भन्नुुभएको छ ।    
    
 वाग्लेले कोही कसैलाई दोश मात्रै दिएर नभै समाज र राष्ट्र निर्माणमा सबै आआफ्ना तर्फबाट जुट्नुपर्नेमा जोड दिनुुभएको छ । हाम्रा संस्कार र संस्कृति बिगार्ने छुट कोही कसैलाई नभएको पनि उहाँका गीतमार्फत सन्देश दिन खोजिएको छ । खुर्सानी गोलभेँडामा परनिर्भर रहनुुपर्ने अवस्थालाई चित्रण गर्दै गीतमा सक्षम युवा जन्मनुपर्ने आवश्यकता औँल्याइएको छ ।    
    
 गीतकार वाग्लेले यसै वर्ष अर्को ‘फेरी पनि तीज आयो मन दुखाउन’ र्शीषकको गीति एल्बम बजारमा ल्याउनुुभएको छ ।    
 “गारो हुने मनका पीडा परेलीमा लुकाउन ।    
 फेरि पनि आयो तीज मन दुःखाउन ।।”    
    
 उक्त टुक्काबाट सुरु गरिएको गीति एल्बममा समसामयिक विषयका साथै चेलीहरूका पीडा, व्यथा र बेदना समेटिएका गीत छन् । आफन्तको वियोग तथा आमा नहुनेले तीजमा महसुस गर्ने पीडालाई गीतमा देखाइएको वाग्लेले बताउनुभयो । उहाँका अनुसार दुुवै गीति एल्बम नमस्ते पोखरा स्टुडियोमा रेकर्ड भएका हुन् ।    
    
 गीतलाई नमस्ते पोखराको युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ । गीतको निर्देशन छवि सुवेदीले गर्नुुभएको छ भने छायाङ्कन तथा सम्पादन सुपरस्टार स्टुडियोका निर्देशक शिवराज भूूर्तेलले गर्नुुभएको हो । छायाङ्कनमा नेवा खलः कास्की र नेवा मिसा पुच्च पोखरा–३ ले सहयोग गरेका छन् ।    
    
 पहिलोपटक विसं २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गर्नुभएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुुई, शहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसक्नुभएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend