Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

युट्युबमा छाउन थाले तीज गीत  


सूचना कुण्ड
युट्युबमा छाउन थाले तीज गीत  

सूचनाकुण्ड समाचारदाता
गण्डकी, साउन १९ : मलमासले धकेलिएर तीज असोजमा पुगेको छ । युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो ।    
    
 अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान–श्रीमती त कहीँ प्रेमी-प्रेमिकाबीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ । यस्तै एउटा गीतमा श्रीमान र श्रीमतिको संवाद समावेश छ ।    
    
 श्रीमान भन्छन्–    
 ‘चौधरी हैन, अम्बानी हैन    
 तैपनि मनमा पिर चिन्ता छैन    
 हे नाच्ने हो गाउने हो    
 कमाउने नि हो, रमाउने नि हो...’    
    
 श्रीमती जवाफ फर्काउँछिन्–    
 ‘थिएन हिजो लाइएन राम्रो    
 आज त छुट्टै इज्जत छ हाम्रो    
 हे नाच्ने गाउने हो    
 कमाउने नि हो, रमाउने नि हो...’    
    
 गत असार २७ मा सार्वजनिक गायक खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीद्वारा स्वरबद्ध तीज गीत ‘कमाउने नि हो, रमाउने नि हो’ले हालसम्म युट्युवमा ६९ लाख बढी ‘भ्युज’ पाएको छ । ‘शुभारम्भ डिजिटल म्युजिक’ युट्युव च्यानलबाट सार्वजनिक उक्त गीतमाथि दुई हजार पाँच सय बढीले टिप्पणी गरेका छन् । नेत्र अर्यालको शब्द रहेको उक्त गीतमा गायक सेञ्चुरीले नै सङ्गीत दिनुभएको छ ।    
    
 गीतको ‘म्युजिक भिडियो’मा कलाकार प्रकाश सपुत र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीत चर्चित गायक÷सर्जक पशुपति शर्माको गीत ‘झुक्याउन पाइँदैन’को म्युजिक भिडियो एकै दिनमा एक लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ । बिहीबार सार्वजनिक उक्त गीतमा गायक शर्मा र गायिका निशा केसीको स्वर छ । शब्द र सङ्गीत शर्मा आफैँले दिनुभएको छ । गीतको अभियन र नृत्यमा शर्मालाई कलाकार अञ्जली अधिकारीले साथ दिनुभएको छ ।    
    
 गीतमा प्रेमी गुनासो गर्छन्–    
 ‘मुटु माग्यो मुटु दिएँ    
 कलेजी माग्यो कलेजी दिएँ    
 हे तर खुसी हुँदिनौँ कि माया अन्तै छ र    
 चाहिँदैन मलाई नक्कली माया चाहिँदैन    
 हो भने हो भन नत्र झक्काउन पाइँदैन...’    
    
 प्रेमिकाले भन्छिन्–    
 ‘बाबाआमा टाढा भए    
 जेजे भन्यौँ त्यैत्यै सहेँ    
 हे तर खुसी हुँदैनौँ कि माया अन्तै छ र    
 चाहिँदैन मलाई नक्कली मायाँ चाहिँदैन    
 हो भने हो भन नत्र झक्काउन पाइँदैन...’    
    
 मन छुने भाका, शब्द र सुरिलो गायकीले तीज गीतलाई सरल र श्रतिमय बनाएको पाइन्छ । लोकगायक विष्णु खत्रीले पनि बिहीबार नै तीज गीत सार्वजनिक गर्नुभएको छ । उहाँको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ‘तीज आयो’ले हालसम्म ६५ हजार बढी ‘भ्युज’ बटुलेको छ । खत्रीको गीतमा पनि श्रीमान–श्रीमतीबीचको गन्थन छ ।    
    
 श्रीमती–    
 ‘असाध्यै राम्री देखिन्छेस्    
 भन्छन् साडीमा मलाई त    
 निस्कन मन लाग्दैन कतै    
 साडी नै नलाई त    
 तीज आयो तीज    
 यसपालि मलाई फूलबुट्टे    
 साडी किन्दिउन है प्लिज...’    
    
 श्रीमान् –    
 ‘पहिरनले पनि नारीलाई    
 झनै सुन्दर बनाउँछ    
 तिमीले लाउने लुगाले    
 मेरो स्तर जनाउँछ    
 तीज आयो तीज    
 कुन चाहिँ साडी किन्दिउँ त    
 तिम्लाई हङकङ कि जापनिज...’    
    
 यी त प्रतिनिधि तीज गीत हुन् । तीज पर्व नजिकिँदै जाँदा दैनिकजसो युट्युबाट तीज गीत सार्वजनिक भइरहेका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरू विधाका गीतलाई थाती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ ।    
    
 पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।    
    
 अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई समेत तीज गीतमा उठान गरिएको पाइन्छ । तीज गीतमा पनि पुरुष कलाकारकै वर्चस्व देखिन थालेको छ । तीज गीतको सौन्दर्य नासिँदै गएकामा कला मर्मज्ञ पनि चिन्तित छन् ।    
    
 कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् । क्यासेट र सिडीको जमना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । ‘भ्युज’, ‘लाइक’ र ‘कमेन्ट’का आधारमा सर्जक÷कलाकारलाई युट्युबले पैसा दिन्छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend