Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बासुरी बादनमा चम्किएका दिनेश 


सूचना कुण्ड
बासुरी बादनमा चम्किएका दिनेश 

 सूचनाकुण्ड समाचारदाता     

म्याग्दी, साउन १७:    म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय दिनेश पुन कक्षा पाँचसम्मको अध्ययनका लागि छिमेकी गाउँ सातबिसेको पुन्यजन आधारभूत विद्यालयमा जाने गर्नुहुन्थ्यो । बाबियाचौरदेखि सातबिसेको विद्यालय जाँदा र घर फर्कंदा बाटो काट्ने क्रममा उहाँले सिकेको बासुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ ।    
    
“बाबियाचौरको माविमा धेरै विद्यार्थी भएकाले पढाइ राम्रो हुदैन भनेर आमाले मलाई थोरै विद्यार्थी भएको सातबिसेमा पढ्न पठाउनुभएको थियो,” दिनेशले भन्नुभयो “स्कुल जाँदा र घर फर्कंदा बाटो काट्न बासुरी बजाउने गर्दथेँ । अहिले त्यही कला मेरो जीविकोपार्जनको आधार बनेको छ ।”    
    
बाटो हिँड्दा, मेलापात जाँदा, विद्यालय र गाउँको कार्यक्रममा सीमित रहेको दिनेशको बाँसुरी बजाउने कलाले विसं २०६२ मा बेनीमा भएको म्याग्दी महोत्सवमा उजागर हुने मौका पायो । अहिले उहाँलाई मेला, महोत्सव, महायज्ञमा बाँसुरी बजाउन आयोजकले शुल्क तिरेर बोलाउँछन् । ‘लाइभ कार्यक्रम’मा पनि आयोजकले बाँसुरी बजाउन दिनेशलाई बोलाउने गर्छन् ।    
    
“विदेश जाने प्रयास सफल भएन,” उहाँले भन्नुभयो “आम्दानीको अन्य स्रोत र ब्यापार व्यवसाय पनि छैन । सत्र वर्षदेखि बाँसुरी बजाएर आफ्नो खर्च र घरखर्च चलाएको छु ।” महायज्ञ र महोत्सवमा बासुरी बजाएको एकमुष्ट रु ३५ हजार शूल्क लिने र अन्य कार्यक्रममा दैनिक रु पाँच हजार शुल्क लिने गरिएको उहाँले बताउनुभयो ।    
    
आठ÷नौ वर्षको उमेर देखि नै बाँसुरीमा ‘टक’ बसेपछि बासुरी नै दिनेशको भाग्य चम्काउने माध्यम बनेको छ । बासुरीका प्वालमा हात चल्न थालेपछि भोक र निद्रासमेत विर्सिने उहाँ बताउनुहुन्छ । म्याग्दीका साथै काठमाडौ, पोखरा, चितवन, रुपन्देही, पर्वत, बाग्लुङ, स्याङ, तनहुँमा आयोजना हुने महायज्ञमा दिनेशलाई बोलाउने गर्छन् ।    
    
उहाँले बजाएको बासुरीको धुन युट्युबमा हेरेर, सुनेर पैसा र उपहार पनि पठाउँछन् । कृष्णराज पौडेलले ‘हाम्रो म्याग्दी’ ‘युट्युब च्यानल’मा पोष्ट गर्नुभएको बासुरी बजाएको भिडियो हेरेर बुटबल पुगेका बेला त्यहाँका एक होटल सञ्चालकले सम्मानस्वरुप खाना खुवाएर पठाएका थिए ।    
    
दोहोरी गित गाउने र मादल बजाउने कला पनि दिनेशसँग छ । केही दिन कास्कीको ल्याङ पुग्नुभएका उहाँको कलाबाट प्रभावित भएर त्यहाँको होमस्टे सञ्चालक दीपक गुरुङले फेरि आउँदा निःशुल्क खाने र बस्ने व्यवस्था मिलाउने घोषणा गर्नुभएको थियो । जस्तोसुकै लयमा पनि बाँसुरीको धुन निकाल्न सक्नु दिनेशको विशेषता रहेको लोक गायक अमित विश्वकर्माले बताउनुभयो । “दिनेश प्रतिभाशाली कलाकार हुनुहुन्छ,” उहाँले भन्नुभयो “उहाँले अवसर पाउनु भयोे भने राष्ट्रिय अन्तराष्ट्रियस्तरमा स्थापित बाँसुरी बादक बन्न सक्ने कला र क्षमता छ ।”    
    
दिनेश बाँसुरीबाट विभिन्न किसिमका धुन निकाल्नु हुन्छ । बासुरीको धुन सुन्दासुन्दै कतिपयको त आँखाबाट आँसु नै झर्न थाल्छ । परिवारका एक्ला सन्तान उहाँकाको जिवन निकै सङ्घर्षमय छ । बुबाले हेला गरेका दिनेशलाई आमाले नै हुर्काउनुभयोे । आमाको पनि चार वर्षअघि निधन भएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend