Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

फुटबल मैदान छ, प्रतियोगिता छैन  


सूचना कुण्ड
फुटबल मैदान छ, प्रतियोगिता छैन  

  
सूचनाकुण्ड समाचारदाता 
अन्नपूर्ण (कास्की),  साउन ६ ः कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङलाई पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरीच्याट्ट बनेकामा निकै खुसी हुनुहुन्छ तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित हुनुहुन्छ । उहाँपोखरा रङ्गशालामा तुलनात्मक रुपमा फुटबल गतिविधि कम भएको बताउनुहुन्छ ।    
    
“पोखरा रङ्गशाला ठूला–ठूला प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ तर प्रतियोगिता साह्रै कम भयो”, एन्फा कास्कीका पूर्वअध्यक्ष गुरुङ भन्नुहुन्छ, “कास्की एन्फा सुस्ताएको जस्तो देखियो ।” यतिको राम्रो मैदानमा फुटबलको मौसम ल्याउन सक्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “अहिले सहारा क्लब पोखराको आयोजनामा आहारारा गोल्डकप हुन्छ तर भव्य रङ्गशाला एन्फाबाट कुनै कार्यक्रम नभएकाले रङ्गशाला भए–नभएको कुनै फरक छैन ।”    
    
आन्तरिक प्रतियोगिता गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पहल गरिनुपर्ने पूर्वअध्यक्ष गुरुङको भनाइ छ । गण्डकी प्रदेशकै उत्कृष्ट रङ्गशाला कास्कीमा भएकाले कास्की एन्फा चलायमान हुनुपर्ने गुरुङले बताउनुभयो । एन्फा कास्कीको पोखरा गोल्डकप नभएको धेरै वर्ष भइसक्यो । यसको निरन्तरतामा पनि एन्फा कास्कीले कुनै धारणा सार्वजनिक गर्न सकेको छैन ।    
    
सवा अर्ब लागतमा निर्माण भएको पोखरा रङ्गशाला चिरीच्याट्ट छ । भित्री र बाहिरी संरचना हेर्दा युरोपियन देशको भन्दा कम छैनन् । उत्तरतिरका हिमालले यसको सुन्दरता झनै बढाएको छ । यो मैदानमा खेलेर आनन्द लिने धेरैको रहर र सपना हुन्छ । यद्यपि यति बजोडको रङ्गशालामा नगन्य प्रतियोगिताले धेरैको सपना पूरा हुन सकेको छैन । यहाँमा गत आव २०७९÷८० मा आठ वटा मात्र प्रतियोगिता भए ।    
    
कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्की अध्यक्ष उज्ज्वल रञ्जितका यस वर्ष आठ मात्र प्रतियोगिता भएका छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष फुटबल प्रतियोगितासँगै आहारारा गोल्डकपलाई यहाँ भएको ठूलो प्रतियोगिताका रुपमा लिन सकिन्छ । यसबाहेक स्पेनिस फुटबल क्लब काथेरेन्यो सिपी र गण्डकी प्रदेशबीचको मैत्रीपूर्ण खेललाई अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा हेरिएको छ । योसँगै सङ्गम क्लबको आयोजनामा क्लबस्तरीय फुटबल प्रतियोगिता, प्याब्सन र एनप्याब्सनको खेल, गण्डकी विश्वविद्यालयको जियु कप र पोखरा महानगरको वडाकप प्रतियोगिता यहाँ भए ।    
    
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित भने आफूहरुलाई जिम्मेवारी नदिँदा व्यवस्थापनमा समस्या परेको बताउँछन् । पश्चिमाञ्चल खेलकुद परिषद् व्यवस्थापनको काम हेरिरहेकामा एन्फा कास्कीलाई केही जिम्मेवारी हुनुपर्ने अध्यक्ष रञ्जित भनाइ थियो । “यसलाई कास्की जिल्ला फुटसङ्घ मातहतमा राख्न सक्नुभयो भने मर्मतदेखि अरु कुरा हाम्रो संरक्षणमा राख्न सक्छौँ भनी पश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा कुरा राख्दा आफ्नो मातहतमै आएको छैन भन्नुभयो”, अध्यक्ष रञ्जितले भन्नुभयो, “निर्माण कम्पनीसँग बुझ्दा हामीले दिइसक्यौँ हामीले अब केही मर्मत गर्दैनौँ भन्छ ।”    
    
एन्फा कास्कीले रङ्गशालामा बनेको फुटबल मैदानमा केही काम गरेको अध्यक्ष रञ्जितले बताउनुभयो । “सङ्घले पोखरा रङ्गशालाको वैकल्पीक फुटबल मैदानको तारवार लगाउने काम पनि सम्पन्न गरेको छ”, अध्यक्ष रञ्जितले भन्नुभयो, “प्रतियोगिताको कुरा गर्दा जिल्ला सङ्घले अखिल नेपाल फुटबल सङ्घ केन्द्रीय कार्यालयको वार्षिक तालिकाअनुसार कार्य गर्ने जानकारी गराउँदछौँ ।” एन्फा कास्कीले नियमित ग्रासरुट फुटबल ट्रेनिङ सेन्टर सञ्चालिन गरी ९० जनाभन्दा बढीलाई प्रशिक्षण दिइरहेको अध्यक्ष रञ्जितले जानकारी दिनुभयो । रङ्गशाला संरक्षणको लागि जिम्मेवारी लिन राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।    
    
रङ्गशाला हस्तान्तरण राष्ट्रिय खेलकुद परिषद्लाई भइसकेकाले आफूहरु मातहत आएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिनुभयो । “केन्द्रमा राखेपमा हस्तान्तरण भइसकेको छ । केन्द्रमा भएपछि हामीलाई पनि भयो भनौँ न”, कार्यालय प्रमुख लक्ष्मण योगीले भन्नुभयो । खेलकुदका केही ठूला योजना केन्द्र आफँैले हेर्ने गरेकाले पोखरा रङ्गशाला पनि सोही समूहमा पर्ने भएकाले एन्फा कास्कीलाई दिने अहिलेसम्म सल्लाह नभएको प्रमुख योगीले स्पष्ट पार्नुभयो ।    
    
विसं २०७५ पुस १३ मा निर्माण सम्झौता भई १६ फागुनमा शिलान्यास पोखरा रङ्गशाला चार वर्षमा निर्माण पूरा भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले एक अर्ब २८ करोडमा निर्माण सम्झौता गरेकोमा निर्माण पूरा हुँदासम्म छ पटकसम्म म्याद थप गरिएको थियो ।    
     
सोह्र हजार पाँच सय सिट क्षमताको रङ्गशालाको पूर्वीभागमा पाँच हजार दुई सय ६८, पश्चिममा तीन हजार आठ सय १४, उत्तरमा तीन हजार चार सय ४४ र दक्षिणमा तीन हजार छ सय ९० सिट जडान गरिएको छ ।    
    
त्यसैगरी अतिविशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा दुई सय २८ तथा अशक्तका लागि २८ सिट जडान गरिएका छन् । फुटबल मैदान, खेलाडी चेञ्जिङ रुम, एथ्लेटिक्स ट्रयाक, तथा मिडिया सेन्टर, हल, शौचालय, प्यारापिटको पश्चिमको विशिष्ट कक्षमा छानोलगायत पूर्वाधार निर्माण भएका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend