Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

पुरुष कबड्डीमा नेपाल पराजित,स्वर्ण दावेदार एरिका पदकबिहीन


सूचना कुण्ड
पुरुष कबड्डीमा नेपाल पराजित,स्वर्ण दावेदार एरिका पदकबिहीन

जापान, असोज ५ :  नेपालको पुरुष कबड्डी टोलीले २० औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै आफ्नो यात्रा सुरु गरेको छ। तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ अङ्कले पराजित भयो । 

पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । पहिलो हाफ सकिँदा नेपाल (२४–२८) ले मात्र पछाडि थियो । दोस्रो हाफमा थाइल्यान्डले ३१ र नेपालले २४ अङ्क बनाएको छ । नेपालले २९ रेड अङ्क र बोनस अङ्क १८ पायो । साथै एक सुपर अङ्कसमेत नेपालले प्राप्त गरेको थियो।

नेपालले भारतमा व्यावसायिक लिग खेल्ने घनश्याम रोकामगरको कप्तानीमा खेलेको थियो ।

स्वर्ण दावेदार एरिका पदकबिहीन

एसियाको सर्वोच्च खेल मेलामा नेपाललाई पहिलो पटक स्वर्ण पदक जिताउने खेलाडीको रुपमा लिइएकी एरिका गुरुङ २० औँ एसियाली खेलकुदमा पदकबिहीन हुनुभएको छ।

पछिल्लो समय उहाँ थुप्रै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खाली हात फर्केको अवस्था थिएन । त्यसैले उहाँलाई यस पटक एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाउने खेलाडीको रुपमा लिइएको थियो । तर नागोयास्थित तोयोहासी जिम्नेजियममा भएको कराँते खेलको ६८ केजी माथिको सेमिफाइनलमा काजखस्तानकी सोफिया बेरुल्सेभासँग २–१ ले पराजित भएपछि एरिकाको स्वर्ण पदकको सम्भावना समाप्त भएको हो । 

रिपिचेज काश्य पदक भिडन्तमा पनि एरिका साउदी अरबकी मुस्तफा डिना अहमदसँग ८–७ ले हारेपछि एरिकाबाट काश्य पदक पनि आएन । यसअघि, सिधै क्वाटरफाइनल खेलेकी एरिकाले जोर्डनकी यारा नासिरलाई ७–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउनुभएको थियो।

एरिका मात्र होइन, अन्य दुई कराँते राकेश मानन्धर र मिनबहादुर तामाङ पनि सेमिफाइनलमा पराजित भएपछि नेपाल पदकको नजिक पुगेर पनि निराश बन्यो। पुरुष कुमुते ५५ केजी तौल समूहको अन्तिम चारमा उज्वेकिस्तानका खालिमोभ खुमोयुन्मिर्जोले राकेशलाई सजिलै ७–० ले हराउनुभयो । 

यसअघि, राकेशले थाइल्यान्डका इन्ग्लोय नाथक्रितलाई ९–० ले हराएर सेमिफाइनलमा स्थान बनाउनुभएको थियो । त्यसपछि राकेश काश्य पदकको भिडन्तमा मलेशियाका कालियाना सुन्द्रामसँग ९–१ ले पराजित हुनुभएको थियो।

पुरुष ६० केजीमुनि तौल समूहमा लगातार दुई खेल जितेपछि मिनबहादुरबाट पनि पदकको अपेक्षा भएको थियो। मिनबहादुरले प्रि–क्वाटरफाइनलमा हङकङका हिम चाउलाई ४–१ तथा क्वाटरफाइनलमा काजकस्तानका मिर्जाजोदा मोहम्मदलाई २–० ले हराउनुभएको थियो । उहाँ पनि सेमिफाइनलमा कुवेतका साबन अब्दुल्लाहसँग १०–० र काश्य पदक भिडन्तमा साउदी अरबका अल्बासेर साउद अब्दुलाजिजसँग २–० को स्कोरमा निराश हुनुभयो।

करातेकी सानुमाया थिङ एकल कातामा दक्षिण कोरियाली प्रतिद्वन्द्वी ह्युन चोईसँग पहिलो चरणमै ५–० ले हारेपछि आज नेपाली कराँतेको दिन सुखद रहेन ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend