Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

ढिकी, जाँतोको संरक्षण गर्दै आमा समूह 


सूचना कुण्ड
ढिकी, जाँतोको संरक्षण गर्दै आमा समूह 

   
   सूचनाकुण्ड समाचारदाता 

बेनी, असार २५ ः    म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् । परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिनुभयो । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भए पनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानीपिसानीका साधनलाई संरक्षण गरिएको उहाँले बताउनुभयो ।    
    
“घरायसी प्रयोजनका लागि आधुनिक मिलमा नै कुटानीपिसानी गर्ने प्रचलन छ, पूजाआजा हुँदा भने सामुदायिक भवनकै ढिकी र जाँतोमा कुटानीपिसानी गर्छौं, परम्परागत जीवनशैलीबारे नयाँ पुस्तालाई जानकारी गराउन पनि यसलाई संरक्षण गरेका हौँ”, उहाँले भन्नुभयो । आमा समूहले गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा भवनसँगै खेल मैदानसमेत निर्माण गरेका छन् । खेल मैदान निर्माण भएपछि महतारे, कोसेपानीलगायतका बस्तीका बालबालिकालाई खेल खेल्नका लागि सहज भएको छ ।    
    
गण्डकी प्रदेश सरकारमार्फत भौतिक पूर्वाधार विकास कार्यालयमार्फत रु चार लाख ५० हजार र गाउँपालिकामार्फत रु पाँच लाख ३४ हजार बजेटबाट आमा समूहको भवन र खेलमैदान निर्माणसँगै घेराबारसमेत निर्माण गरेका छन् । नवनिर्मित भवनको एउटा कोठामा ढिकी र जाँतोलाई राखिएको छ भने अर्को कोठालाई समूहको बैठक कक्ष बनाइएको छ ।    
    
भवन निर्माण भएपछि समूहको बैठक बस्न व्यक्तिको घर, आँगन र खुला चौतारीमा बस्नुपर्ने बाध्यता हटेको आमा समूहका सचिव राधिका खत्रीले जानकारी दिनुभयो । भवन, खेलमैदान र घेराबार गर्न आमा समूहले समेत नगद रु करिब ५० हजार लगानी गरेका छन भने जनश्रमदानसमेत गरेका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend