Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कमला किनारमा बाढी पर्खिरहेका माझी   


सूचना कुण्ड
कमला किनारमा बाढी पर्खिरहेका माझी   

सूचनाकुण्ड समाचारदाता       
जनकपुरधाम, असार १०: केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेकाे पानीको बहावले यहाँकाे अस्थायी काठेपुल बगाइसकेको छ ।    
    
 नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररुप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी किरानका मानवबस्तीमा बस्नेतहरु त्रसित बनेका छन् । नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरु पनि बगर छोड्ने सुरसारमा छन् ।    
    
 हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरुको सङ्ख्या पातलिँदै गएको छ भने नदी किनारमा डुङ्गा खियाउने माझीहरुको सङ्ख्या भने बढ्न थालेको छ । त्यसैमध्येका एक हुनुहुन्छ–कमला नगरपालिका-५ धनुषाका ८० वर्षिय माझी ‘बा’ रामसेवक सहनी ।    
    
 उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ । विहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेऊ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ । “के गर्नु वर्षाका दुई÷चार महिना त हो डुङ्गा चलाउन पाउने । यो सानै उमेरदेखि गर्दै आएको काम हो । यही घाटमा डुङ्गा खियाउँदै जीवन बित्यो । ज्यानले साथ दिएसम्म त काम गर्नै पर्‍यो”, उहाँले भन्नुभयो ।    
    
 कमला-५ का ५२ वर्षिय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ । नदी किनारमा बिहानदेखि बेलुका आँखाले देखुञ्चेल डुङ्गा खियाउन उहाँ व्यस्त हुनुहुन्छ । यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ । “देशमा हुँदा नौ÷दश वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ । बाउबाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुङ्गा चलाउनुहुन्थ्यो । त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौ”, सहनीले भन्नुभयो, “यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो ? भाँसिएको पुल नउठेसम्म त होला !”    
    
 वर्षायामका करिब चार महिना डुङ्गा चलाएर प्रतिमहिना दशदेखि बीस हजार आम्दानी हुने उहाँको भनाइ छ । सहनीका शब्दमा यो रहर नभइ उहाँको बाध्यता हो । “पेशा हो लोभ त लाग्छ तर रहरले नभई कमला पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुङ्गा चलाइरहेका छौँ । मैले त १५ वर्षभन्दा बढी समय कतारमा बिताए । रातारात हुने त्यहाँको विकास देखेको छु । यहाँ त पुल नदेखेरै पुस्तौ बित्यो, १२ वर्षअघि पुल बन्न थालेपछि निकै उत्साहित भएका थियौ तर त्यो पनि अलपत्र छ । थप कति वर्ष लाग्ने हो कुनै ठेगान नै छैन”, सहनीको गुनासो छ ।    
    
 उहाँसँगै कक्षा ११ मा अध्ययनरत छोरा हरिदेवकुमार सहनी पनि डुङ्गा चलाउन सिक्दै हुनुहुन्छ । बुबाको अनुपस्थितिमा सजिलो होला भनेर फुर्सदको समयमा आफूले पनि डुङ्गा चलाउन सकिरहेको हरिदेवको कथन छ ।    
    
 “हाम्रो जात नै डुङ्गा चलाउने हो । बुबाले बाजेबाट सिक्नुभयो र मैले बुबाबाट सिक्दैछु । बाजेले कमलामा पुल देख्न पाउनुभएन, बुबाको पालामा पनि बन्छ कि बन्दैन थाहा छैन । के थाहा ! यस्तै अवस्था रहे मैले पनि डुङ्गा चलाएर बस्नुपर्ने हो कि”, हरिदेवले पुलतर्फ हेर्दै भन्नुभयो ।    
     
 स्थानीय समसुदेन मोहमदले पनि वर्षायाममा नजिकका बस्तीबाट कमला नदी वारपार गर्न डुङ्गाको विकल्प नभएको बताउनुहुन्छ । उहाँले वर्षौदेखि पुल नबन्दा निकै सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउनुभयो ।    
    
 “मेरो घर नदी वारीपट्टी सिरहा नगरपालिकामा पर्छ । नातेदारहरु नदी पारी धनुषामा बस्छन् । आउजाउ गर्दा डुङ्गाको विकल्प छैन कि त लामो दूरी पार गरेर जानुपर्छ”, मोहम्मद भन्नुहुन्छ, “नेताहरु भोट माग्न आउँदा पुल चाँडै बन्छ भन्छन् तर वर्षौ लागेर बनाएको पुल एकै वर्षात्मा भाँसिदा पनि कसैले केही गरेनन् । कहिले बन्ने हो अनुमान नै लगाउन सकिँदैन ।”    
    
 यो पटक अहिलेसम्म पूर्णरुपमा वर्षा सुरु भइसकेको छैन । ढिलोचाँडो विगतका वर्षमा झैँ बाढीको बेला आउँदैछ । नदी किनारका बस्तीमा वर्षा सुरु नहुँदै एकप्रकारको ‘त्रास’ छ । त्यस्तै त्रास छ वर्षौदेखि डुङ्गा खियाइरहेका माझिहरुलाई पनि ।    
    
 “केही समय अर्थोपार्जन गरे पनि पुस्तौपुस्ता पुल नहुँदाको सास्ती सबैले खप्नुपरिरहेको छ । तपाईंहरुले देखिसक्नुभयो बुढो र कुप्रो शरीर बोकेर बिहानैदेखि नदीमा आउनुभएका माझी बालाई । बुढा बाजस्तै हामीले पनि यहाँ बाढी पर्खेर बसिरहनुपरेको छ । यो रहर नभई बाध्यता हो । पुल नहुनुको बाध्यता !”    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend