Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सहज खानेपानीबाट अझै वञ्चित छन् रानीगाउँवासी


सूचना कुण्ड
सहज खानेपानीबाट अझै वञ्चित छन् रानीगाउँवासी

सूचनाकुण्ड समाचारदाता 
पाँचथर, जेठ २२ : मध्याह्नको टन्टलापुर घाममा कुम्मायक गाउँपालिका–४ तिल्केमा सरखण्डे–यासोक सडकको छेउमा १२–१४ जना स्थानीयवासी खानेपानीको पाइपलाइनका लागि डोब खनिरहेका थिए । सरकारले ठूलो लगानी गरेर यासोक बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरे पनि प्राविधिक समस्याका कारण सहज उपभोग गर्न नपाएपछि यहाँका स्थानीयवासी स्वलगानीमा खानेपानी विस्तार गर्न कस्सिएका थिए ।    
    
 सुक्खाले प्रभावित यस क्षेत्रमा यासोक बृहत् पम्पिङ आयोजनाको पानी नियमित हुन नसक्दा स्थानीयवासीसामु वैकल्पिक स्रोतको प्रबन्ध गर्नु अपरिहार्य बनेको छ ।    
स्थानीय पूर्ण खजुमको गैरीखेतबाट पाइपलाइनमार्फत पानी ल्याउनका लागि स्थानीयवासी पाइपलाइनको डोब खनिरहेका थिए । “यहाँका करिब ४० घरले पिउने पानी ल्याउन लागेका हौँ”, स्थानीयवासी हिमालचन्द्र सम्बाहाम्फेले भन्नुभयो, “यो पानी आहाले, तिल्के, माराम टोलका लागि छुट्टाछुट्टै भण्डारण गरेर पिउने योजना बनाएका छौँ ।” टन्टलापुर घाममा तीन दिनदेखि उनीहरू पाइपलाइन खनिरहेका थिए ।    
    
 “अब चार÷पाँच दिन लाग्ला हामीलाई । अहिले घरको एक–एक जना सहभागी भएका छौँ”, पानी मुहानका जग्गाधनी समेत रहेका स्थानीयवासी पूर्ण खजुमले भन्नुभयो, “हाम्रो क्षेत्रका लागि सधैँ पानीको दुःख भयो । यो निजी मुहान थिएन भने हामी बसाईं सरी जाँदा हुन्थ्यो ।” पाइपलाइन निर्माणको काम सकिएपछि पाइप विस्तार गर्ने र छोप्ने स्थानीयवासीको तयारी छ । यी स्थानमा नजिकै खानेपानीका अन्य कुनै स्रोत छैनन् । टाढा–टाढा रहेका मुहान वा तमोरको पानीकै भरमा स्थानीयवासीले गुजारा चलाउनुपर्ने बाध्यता छ ।    
    
 पाइपलाइन निर्माणपछि उपभोक्ताहरूले जुटाएको १६ र २० एमएमको पाइपमार्फत पानी ल्याउन लागिएको छ । खानेपानी विस्तारकै लागि कुम्मायक गाउँपालिका ४ नं वडा कार्यालयले रु १० लाखको पाइप खरिद गरेको छ । पाइपलाइन विस्तार भइसकेपछि नापजाँच गरी पाइप वितरण गर्ने तयारी गरिएको पाइपलाइन विस्तारमा खटिइरहेका सो वडाका वडा सदस्य छविलाल खजुमले जानकारी दिनुभयो ।    
    
 यासोक बृहत् पम्पिङ खानेपानी आयोजनामार्फत २०७६ सालको माघदेखि खानीपानी वितरण थालिएको थियो । साविक यासोक, रानीगाउँ र स्यावरुम्बाका तीन हजार ४३ घरका लागि निर्माण थालिएको खानेपानी करिब दुई हजार तीन सय घरमा वितरण थालिएपछि उद्घाटन भएको थियो । तर बाँकी स्थानमा पाइपलाइन विस्तारमै ढिलाइ भयो । साविक रानीगाउँ गाविसको वडा नं १ का आहाले, तिल्के, मारामलगायत टोलमा पाइपलाइन विस्तार भएको झण्डै तीन वर्ष भयो । यहाँ सुरु–सुरुमा पानी आएको थियो । लामो पाइपलाइन भएका कारण यस क्षेत्रमा पानी अनियमित हुँदै गयो ।    
    
 “माथिल्लो क्षेत्रमा खानेपानीको कुनै समस्या देखिँदैन । यासोकका होटलहरूमा समेत पानी प्रशस्तै देखिन्छ”, तिल्केका टेकेन्द्र खजुमले भन्नुभयो, “हाम्रो क्षेत्रमा कसैको घरमा पानी झर्ने कसैकोमा नझर्ने भइरह्यो ।” पम्पिङ आयोजनाको पानीको भरोसा नभए पनि स्वलगानीमा खानेपानी विस्तार गर्नु परेको स्थानीयवासीको भनाइ छ । “खानेपानीको समस्या भइरहने कुरा उपभोक्ता समिति र गाउँपालिकालाई पटक–पटक ध्यानाकर्षण गरायौँ”, उपभोक्ता हिमालचन्द्र सम्बाहाम्फेले भन्नुभयो, “तर समस्या समाधान हुन सकेन ।”    
    
 साविक रानीगाउँ गाविस वडा नं १ मा पम्पिङ आयोजनाले काम गर्न नसकेको स्थानीयवासीको गुनासो छ । समितिलाई पानी नआएको गुनासो गर्दा तुरुन्तै प्राविधिक आएर हेर्ने गरे पनि समस्या हल नभएको सम्बाहाम्फेको भनाइ छ । “घर–घरमा पाइप मात्रै जोडेर के गर्नु ? पानी आउँदैन”, उहाँले भन्नुभयो, “स्रोत नपु¥याएको हो वा प्राविधिक जटिलता हो, त्यो हामीलाई जानकारी भएन ।”    
    
 यस क्षेत्रमा ओन्थाक–यासोक सडक विस्तार र कालोपत्रेको कार्यले समेत केही समय खानेपानी विस्तारमा समस्या भएको थियो । साविक १ नम्बर वडालाई डिपबोरिङ समेत जोडेर कुम्मायक–४ कै देवलमा रहेको ट्याङ्कीमार्फत खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । सोही ट्याङ्कीबाट साविकका वडा नं २ र ९ ले समेत प्रयोग गर्ने गरेका छन् । अत्यधिक चुहावट, पाइपलाइनमा समस्या आइरहने हुँदा पानी नआएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । निर्माण कम्पनीले सडक निर्माणमा समेत सोही पानी प्रयोग गर्ने गरेका कारण समस्या भोग्नुपरेको स्थानीयवासीको आरोप छ ।    
    
 गत महिनामात्रै यासोक बृहत् पम्पिङ खानेपानी आयोजनाको नयाँ उपभोक्ता समिति गठन भएको छ । “अहिलेका नयाँ अध्यक्षले चाहिँ केही सुधार गर्न थाल्नुभएको छ । विगतमा नआएका केही ठाउँमा पानी आएको छ”, उपभोक्ता हिमालचन्द्र सम्बाहाम्फेले भन्नुभयो, “आहालेमा लामो समयदेखि पानी आएको थिएन । अहिले अलिअलि आउन थाल्यो ।” सुधारको कामलाई तीव्रता दिन पनि उपभोक्ताले आग्रह गरेका छन् ।    
    
 यासोक बृहत् पम्पिङ खानेपानी आयोजनाका नवनिर्वाचित अध्यक्ष मेघराज निरौला साविक रानीगाउँ गाविस वडा नं १ मा खानेपानी नियमित नभएको स्वीकार्नुहुन्छ । “सो क्षेत्रमा खानेपानी नियमित गर्न सकिएको छैन । म अध्यक्ष भएपछि धेरै प्रयास थालेको छु । दुई दिनअघि पनि प्राविधिक गएर खास समस्या बुझ्ने प्रयास गर्नुभएको छ”, निरौलाले भन्नुभयो, “यस्तो समस्या लामो समय हुन दिइने छैन ।” डिपबोरिङ योजनालाई समेत प्रभावकारी बनाई खानेपानीको अभाव हुन नदिन समितिले प्रयास गर्ने निरौलाले बताउनुभयो ।    
    
 लामो पाइपलाइन, चुहावट, विद्युत्को अनियमितता, पम्पिङ स्टेशन तथा पम्पहरूमा आइरहने प्राविधिक समस्या, भण्डारणका लागि ट्याङ्कीको अभाव जस्ता समस्याका कारण खानेपानीलाई चुस्त र नियमित गर्न नसकिएको उपभोक्ता समितिको भनाइ छ । खानेपानीका मुहान सुक्दै गएपछि साविकको यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२/०७३ देखि बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण सुरु भएको थियो । यी गाविसहरूलाई सरकारले विसं २०६८ मै सुक्खाग्रस्त क्षेत्र घोषित गरेको थियो । रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार दुई सय ६६ स्थानीयवासी लाभान्वित हुने सरकारी प्रक्षेपण छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend