Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग   


सूचना कुण्ड
भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग   

 सूचनाकुण्ड समाचारदाता

पाँचथर, जेठ १८:   
पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो ।    
    
नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ । नाका सञ्चालनमा नआउँदा नेपाल–भारत (सिक्किम) आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताउनुभयो । स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले यथाशीघ्र नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको उहाँले बताउनुभयो ।    
    
नेपालले चिवाभञ्ज्याङसम्म एक दशकअघि नै सडक पुर्याएको थियो । मध्यपहाडी लोकमार्गको ट्र्याक खोलिएसँगै यहाँसम्म सवारीसाधन पुग्न थालेका थिए । दुई वर्षअघि भारतको सिक्किम राज्य सरकारले पनि चिवाभञ्ज्याङसम्म सडक विस्तार गरिसकेको छ । यहाँ राज्यको उपस्थिति छैन । नेपालका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलसम्म जान चाहने पर्यटकले यो बाटो प्रयोग गर्न पाएका छैनन् ।    
     
“सिक्किमबाट पाथीभरा मन्दिरको दर्शन गर्न र पूर्वी पहाडका विभिन्न स्थानमा रहेका आफन्त भेट्नका लागि आउने भारतीय नागरिकले बाटो प्रयोग गर्न पाएका छैनन्”, याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङले भन्नुभयो, “यहाँबाट सिक्किम जान चाहनेले पनि बाटो प्रयोग गर्न पाएका छैनन् ।”    
    
पाँचथर र ताप्लेजुङका सयौँ परिवारको सिक्किमसँग पारिवारिक सम्बन्ध छ । अहिले पनि वारिपारि बिहेवारी हुने गरेको छ । प्रहरीले उपलब्ध गराएको प्रवेश अनुमतिपत्र बोकेर मात्र आफन्त भेट्नुपर्ने स्थानीयवासीको बाध्यता छ । “सरसामान ल्याउन तथा लैजान उत्तिकै कठिन छ”, वडाध्यक्ष खालिङले भन्नुभयो । चिवाभञ्ज्याङको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल तैनाथ छ । नेपालतर्फ पनि तीन वर्षअघि बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।    
    
दुवैतर्फ सुरक्षाकर्मी तैनाथ गरिएको अवस्थामा नाकालाई व्यवस्थित गरिनुपर्ने गाउँपालिकाका अध्यक्ष योङ्याको भनाइ छ । यहाँ भन्सार कार्यालय स्थापना गर्न माग गरिएको छ । नाका सञ्चालन भए पाँचथर र ताप्लेजुङका सीमावर्ती गाउँपालिका याङवरक, फालेलुङ, सिरिजङ्घा, सिदिङ्वाका ग्रामीण क्षेत्रको उत्पादनले भारतमा बजार पाउने स्थानीयवासी बताउँछन् ।    
    
मध्यपहाडी लोकमार्गसँग याङवरक–६ गणेशचोकमा मेची राजमार्ग र हिलिहाङ–१ फेदापामा तमोर करिडोर जोडिन्छ । नाका खुलेमा सामग्री आयात गर्न सहज हुने, राजस्व सङ्कलनमा वृद्धि हुने अध्यक्ष योङ्या बताउनुहुन्छ । चिवाभञ्ज्याङबाट याङवरक–४ दारिम्बासम्म मध्यपहाडी लोकमार्गको ५१ किलोमिटर सडक कालोपत्र गर्न बाँकी नै छ । कालोपत्रका लागि ठेक्का आह्वान गरिएको छ । सीमानाका सहजरुपमा सञ्चालनमा आए भारतीय पर्यटक भित्र्याउन ससहज हुने देखिन्छ । अहिले पनि दिनहुँ भारतीय पर्यटक पाथीभरा मन्दिर पुग्ने गर्छन् । उनीहरू झापाको काँकरभिट्टा नाका हुँदै लामो बाटो प्रयोग गर्न बाध्य छन् । नाका सञ्चालनका लागि भारत सरकारसँग सम्झौता गरी चिवाभञ्ज्याङलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्नुपर्ने गाउँपालिकाको माग छ ।    
–––    
  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend