Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

३१ प्रतिशतले आयात बढेर एक खर्ब ८७ अर्ब रुपियाँ


सूचना कुण्ड
३१ प्रतिशतले आयात बढेर एक खर्ब ८७ अर्ब रुपियाँ

काठमाडौँ, भदौ ९ : आर्थिक वर्षको पहिलो महिनामै मुलुकको आयात अत्यधिक बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आव २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा मात्रै गत वर्ष साउनको तुलनामा ३१ प्रतिशतले आयात बढेर एक खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ । जुन गत साउनको तुलनामा ४४ अर्ब रुपियाँले बढी हो । गत साउनमा नेपालले एक खर्ब ४३ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो । 

भारतीय बजारमा प्रशोधित तेलको बजार विस्तार हुँदा नेपालको आयात पनि बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । भारतमा प्रशोधित भटमास र सूर्यमुखी तेल निर्यात गर्न दक्षिण अमेरिकी देश अर्जेन्टिना र ब्राजिलबाट कच्चा भटमास र सूर्यमुखी तेल आयात गर्ने प्रवृत्तिले मुलुकको आयात परिणाम नै उल्लेख्य बढाइदिएको छ । तथ्याङ्क अनुसार नेपालले साउनमा १८ अर्ब रुपियाँको कच्चा भटमास तेल आयात गरेको छ । जुन मूल्यका हिसाबले साउनमा सबैभन्दा बढी आयातित वस्तु हो । गत साउनमा १० अर्ब रुपियाँको मात्रै कच्चा भटमास तेल आयात भएको थियो । 

त्यस्तै यस वर्ष साउनमा तीन अर्ब ५७ करोडको कच्चा सूर्यमुखी तेल आयात भएको छ । प्रशोधनपछि यी दुवै तेल भारतमा निर्यात हुने गर्छन् । जसले नेपालको निर्यात आँकडा पनि बढाइदिएको छ । 

साउनको निर्यात तथ्याङ्क अनुसार नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमास तेल नै रहेको छ । विभागका अनुसार यो महिना १८ अर्ब रुपियाँको भटमास तेल नेपालबाट भारत निर्यात भएको छ । 

आयाततर्फ कच्चा भटमासपछि १३ अर्ब ८५ करोड रुपियाँको डिजल आयात भएको छ । त्यसपछि आठ अर्ब ४६ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ । सात अर्ब ८६ करोड रुपियाँको रासायनिक मल आयात हुँदा पेट्रोल छ अर्ब ८८ करोड रुपियाँको आयात भएको छ । यस अवधिमा तीन अर्ब ८७ करोड रुपियाँको स्मार्टफोन पनि आयात भएको विभागको विवरण छ । 

निर्याततर्फ भटमास तेलपछि एक अर्ब २९ अर्ब रुपियाँको पाम तेल भारतीय बजारमा गएको छ । त्यसपछि एक अर्ब २० करोड रुपियाँको सूर्यमुखी तेल निर्यात भएको छ । त्यसपछि स्टेनलेस स्टिलबाट निर्मित घरायसी सामग्री एक अर्ब १५ करोड रुपियाँको निर्यात भएको छ । साउनमा एक अर्ब ६० करोड रुपियाँको जुट निर्यात हुँदा करिब ८५ करोड रुपियाँको गलैंँचा निर्यात भएको छ । 

प्रशोधित तेल निर्यात बढ्दा त्यसले नेपालको कुल निर्यातमा भने उल्लेख्य योगदान दिएको छ । जसले नेपालको निर्यात गत वर्षको तुलनामा करिब ६२ प्रतिशतले बढाएको छ । विभागका अनुसार गत साउनको तुलनामा १४ अर्ब ७७ करोड रुपियाँले निर्यात बढेर ३८ अर्ब ७० करोड रुपियाँ पुगेको छ । गत साउनमा नेपालले २३ अर्ब ९३ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो । 

समग्रमा निर्यात बढेको देखिए पनि आयातको मात्रा नै बढी हुँदा मुलुकको व्यापार घाटा पहिलो महिनामै एक खर्ब ४८ अर्ब रुपियाँ नाघेको छ । जुन गत साउनको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend