Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

भकारीमा थन्किँदै आएको उदयपुर सिमेन्ट बोरामा प्याक


सूचना कुण्ड
भकारीमा थन्किँदै आएको  उदयपुर सिमेन्ट बोरामा प्याक

उदयपुर, भदौ ५ : लामो समयदेखि बोरा अभावमा भकारीमै थन्किँदै आएको उदयपुर सिमेन्ट उद्योगले ‘गैँडा छाप’ सिमेन्ट बिक्री सुरु गरेको छ । यसअघि नै उत्पादन भई उद्योगको भकारीमा थन्किँदै आएको उच्च गुणस्तरको गैँडाछाप सिमेन्ट धमाधम बिक्री गर्न सुरु गरिएकोे निमित्त महाप्रबन्धक वैधनाथ झाले बताउनुभयो ।

झन्डै छ करोड रुपियाँ मूल्यको सिमेन्ट गोदाममा थन्किइरहेको अवस्थामा वर्तमान उद्योग प्रशासनले बोराको प्रबन्ध गरेपछि दैनिक पाँच सय बोराका दरले सिमेन्ट बिक्री भइरहेको बिक्री शाखाका प्रमुख मीरा राईले बताउनुभयो । 

प्रतिबोरा ७२५ रुपियाँका दरले बिक्री गर्दा उद्योगले बिहीबारसम्म करिब १४ लाख ५० हजार रुपियाँ आम्दानी गरेको छ । 

बोरा अभावका कारण उत्पादन भइसकेको सिमेन्ट प्याकिङ गर्न नसक्दा लामो समयदेखि उद्योगको भकारीमै थन्किएको थियो । तत्कालका लागि चितवनस्थित आशीर्वाद पोली प्यालक्स प्रालिबाट ५३ हजार १८७ थान बोरा आयात गरिएको उद्योगका निमित्त महाप्रबन्धक वैद्यनाथ झाले बताउनुभयो । 

उहाँका अनुसार अहिले करिब चार करोड रुपियाँको झन्डै ४० हजार बोरा तयारी सिमेन्ट उद्योगको आफ्नो भकारीमा मौज्दात रहेको र त्यसबाहेक सिमेन्ट उत्पादनका लागि तयार पारिएको करिब दुई करोड मूल्य बराबरको करिब २० हजार बोरा क्लिङ्कर पनि मौज्दात रहेको छ ।

तथापि लामो समयदेखि उत्पादन बन्द हुँदा उद्योगमा आर्थिक सङ्कट चुलिँदै गएको र पाँच अर्ब ३० करोड रुपियाँभन्दा बढी दायित्व पुगेको निमित्त महाप्रबन्धक झाले बताउनुभयो । गत फागुनदेखि उद्योगको उत्पादन पूर्ण रूपमा बन्द भएको र कर्मचारीले नियमित तलब पाउन नसकेको अवस्था छ ।  

उत्पादन ठप्प हुँदा उद्योगका मेसिन तथा उपकरणसमेत लामो समयदेखि निष्व्रिmय रहँदै आएको र केही उपकरणमा खिया लाग्न थालेको कर्मचारी बताउँछन् । नियमित सञ्चालन हुनुपर्ने सरकारी स्वामित्वको उद्योग लामो समयदेखि बन्द रहेकाले अधिकांश कर्मचारी नियमित कामविहीन हुँदै आएका छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend