Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बाम्का बजार आगलागी : दमकल नभएको पीडा


सूचना कुण्ड
बाम्का बजार आगलागी : दमकल नभएको पीडा

बाजुरा, जेठ २४ :  शुक्रबार बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले तहसनहस बनाएको छ । नवर्दुगा होटलबाट सुरु भएको आगलागीले ३० पसल जलेर नष्ट हुँदा करोडौंको क्षति भएको छ ।

आगलागीका कारण स्थानीय व्यवसायीहरू एकैछिनमै सडकमा आएका छन् । कसैले आफ्नो जीवनभरको कमाइ गुमाए भने कसैले परिवार पाल्ने आधार । आगलागीपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

ग्यास सिलिन्डर विस्फोटपछि सुरु भयो आगलागी

नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिन्ड र विस्फोट भएपछि आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरी नायब उपरीक्षक इकवाल हवारीले भन्नुभयो, “आगलागीले सबै टिनटहराका पसलहरू खरानी बनायो, पानीले निभाउन सक्ने अवस्था थिएन ।”

सपनासँगै खरानी बनेको जीवन

होटल सञ्चालक तोयानाथ न्यौपानेले पसलसँगै जीवन जलेर गएको बताउनुभयो । सञ्चालक न्यौपानेको अनुहार आकाश जत्तिकै निराशा देखिन्थ्यो । “यात्रुहरूलाई मिठो खाना खुवाउथेँ, त्यही होटल मेरो घर चलाउने माध्यम थियो । अब घर जान डर लाग्छ, के लिएर जानु ?,” उहाँ भन्नुभयो, ‘‘अब हातमा केही छैन, घर फर्केर के भनूँ ?”

यसैगरी, शुसिल थापा स्थानीय मेडिकल सञ्चालन गर्दै आएका थिए । उहाँको पसल त्यहि आगलागीमा खरानी भयो । थापाले मेडिकल खोलेर बाम्कावासीलाई सेवा दिँदै आउनुभएको थियो । “औषधी, कागजात, सबै जलेर खरानी भयो । अब पुनः कसरी सुरु गर्ने थाहा छैन । बिरामीको सेवा गर्न खोलिएको पसल नै सकियो ।”

यसैगरी, दीपक साउदको इलेक्ट्रोनिक पसल पनि पूर्णरूपमा जलेर नष्ट भएको छ । उहाँ भावुक हुँदै भन्नुभयो, ‘‘इलेक्ट्रोनिक पसल थियो, तर त्यो पसल अब कहिल्यै पनि देख्न पाउँदैनन् । वर्षौ वर्ष गरी जोडेको पसल एक सेकेन्डमै खरानी भयो ।”

यतिमात्र होइन्, सँगै पसल चलाउँदै आएका अरू व्यापारीहरू समेत अहिले सडकमै टाउको राख्ने ठाउँ खोजिरहेका छन् । तीन दर्जनजति व्यापारी अहिले सडकमा छन् ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको नेतृत्वमा विपद् व्यवस्थापन समितिको टोलीले घटनास्थलको निरीक्षण गर्दै क्षतिका विवरण सङ्कलन गरिरहेको छ ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत राहत वितरणका निर्णय गरिएको छ । आकस्मिक बैठकमा बुढीगङ्गा नगर प्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगर प्रमुख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापालगायतको सहभागिता थियो ।

दमकल नभएको पीडा

स्थानीय तहमा दमकलको अभावले आगलागी नियन्त्रणमा ठुलो चुनौती थपिएको हो । जिल्लाका सबै पालिकासँग गाडी भए पनि दमकल नभएको प्रशासनले स्वीकारेको छ ।

बजार जलेर सडकमै आइपुगेका व्यापारीहरूले तत्काल राहतसँगै दीर्घकालीन समाधान माग गरेका छन् । उनीहरूले “सिर्जनात्मक पुनःस्थापना गरिदिउन्, हामी फेरि उठ्ने छौं ।’’ बताएका छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend