Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रैथाने जुम्ली मार्सीको नयाँ जात विकास


सूचना कुण्ड
रैथाने जुम्ली मार्सीको नयाँ जात विकास

जुम्ला, जेठ १० :  जुम्लामा उत्पादन हुने रैथाने जुम्ली मार्सीको नयाँ जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले रैथाने मार्सी धानको अनुसन्धान गरेर नयाँ जातको धानको बिउ उत्पादन गरी किसानका बिचमा लैजान सुरु गरेको छ ।

झन्डै दुई दशकदेखि मार्सी धानमा देखिएको ब्लास्कट रोगले किसानलाई हैरानी दिइरह्यो । मार्सीमा रोग लाग्ने भएकाले धान सखाप हुने र भने अनुसारको उत्पादन नहुने भएपछि यसको उत्पादनमा ह्रास हुने समस्या भइरहेको थियो ।

निकै पोसिलो र मिठो स्वाद हुने भएकाले बजारको माग धेरै भए पनि रोगले उत्पादन वृद्धि गर्न धान मरुवा रोग (राइस ब्लास्ट) रोग लागेर किसानलाई हैरान बनाइरहेको समयमा मार्सी धानको नयाँ जातको विकास गरिएको हो । रैथाने मार्सी धानलाई जोगाइराख्ने, रोग नलाग्ने र उत्पादन बढाउने उद्देश्यले नयाँ जातको विकास गरिएको हो । 

कृषि अनुसन्धान केन्द्र विजयनगरका अनुसार इन्हान्स्ड जुम्ली मार्सी–१८, इन्हान्स्ड जुम्ली मार्सी–२० र इन्हान्स्ड जुम्ली मार्सी–२२ को रैथाने जुम्ली मार्सीको नयाँ धानको जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख वैज्ञानिक डा. नवराज आचार्यले नयाँ विकास गरिएको पुरानो रैथाने मार्सी धानसँग कुनै प्रकारको फरक र कमी नभएको बताउनुभयो । उहाँका अनुसार झन्डै सात/आठ वर्षअगाडि अनुसन्धान सुरु गरिए पनि झन्डै डेढ वर्षअगाडि सफलता प्राप्त भएको हो । कार्यालयका अनुसार यो अनुसन्धानका लागि वैज्ञानिकले ‘मास मार्कर एसिस्टेड सेलेक्सन’ विधिको प्रयोग गरिएको हो । 

किसानलाई वितरण सुरु  

कृषि अनुसन्धान केन्द्र प्रमुख वैज्ञानिक डा. आचार्यका अनुसार यस वर्ष जुम्ली मार्सी १८ को १० केजी, जुम्ली मार्सी २० को १० केजी र जुम्ली मार्सी २२ को २० केजी बिउ किसानलाई वितरण गरिएको छ । मार्सी धानको नयाँ जातको विकास हुनेबित्तिकै अघिल्लो वर्ष केही किसानलाई बिक्रीवितरण गरिएको जानकारी उहाँले दिनुभयो ।

गुठीचौर गाउँपालिका–५ का किसान पनिमल सार्कीले मार्सी धानको नयाँ जातको विकास हुनेबित्तिकै आफूले एक केजी धानको बिउ लिएर घरमा ब्याड बनाई धान उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले एक केजी धानबाट उत्पादन गरेको ४९ केजी उत्पादन भएको र त्यसमध्ये ३९ केजी यस वर्ष जिल्ला कृषि विकास कार्यालयलाई बिउका लागि उपलब्ध गराएको बताउनुभयो ।  

उहाँका अनुसार नयाँ विकास गरिएको जातको स्वाद पहिलेको भन्दा कुनै फरक छैन । कृषि विकास कार्यालयले कृषि विकास कार्यालयले अनुसन्धान गरी नयाँ धान विकास गरेको धानको जिल्लाका चार वटा समूहमा बेर्नाका लागि उपलब्ध गराएको छ । अहिले जुम्लामा धान २०८ हेक्टरमा उत्पादन गरिन्छ । चालु आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार ९८७ मेट्रिक टन धान जुम्लामा उत्पादन भएको कार्यालयले जनाएको छ । 

उत्पादन दोब्बर हुने दाबी

वैज्ञानिकका अनुसार नयाँ विकास गरिएको मार्सी धानको दोब्बर उत्पादन हुने दाबी गरिएको छ । डा. आचार्यका अनुसार जुम्लामा रैथाने रूपमा रहेको मार्सी धानको प्रतिहेक्टर २.५ मेट्रिक टन उत्पादन हुँदै आएको छ । अहिले नयाँ अनुसन्धान गरिएको जातबाट प्रतिहेक्टर साढे चारदेखि पाँच मेट्रिक टन उत्पादन हुने छ । 

यसका साथै यसमा धान मरुवा ब्लास्ट रोग लाग्ने छैन । यसले गर्दा एकातिर उत्पादन बढी हुने अर्कोतिर रोग नलागेर उत्पादन भइरहने उहाँले बताउनुभयो । धानमा रोग लाग्ने भएकाले किसानले केही समय भारत तथा विभिन्न स्थानमा औषधी ल्याएर पनि प्रयोग गर्न बाध्य भएका थिए अब यो जातमा रोग नलाग्ने भएको वैज्ञानिक बताउँछन् ।   

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend