Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

टी-२० ग्लोबल छनोट : महिला क्रिकेटको ऐतिहासिक यात्रा


सूचना कुण्ड
टी-२० ग्लोबल छनोट : महिला क्रिकेटको ऐतिहासिक यात्रा

काठमाडौँ, जेठ ६ : नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय मैदानमा पाइला चालेको १८ वर्ष पूरा भइसकेको छ ।

सन् २००७ मा मलेसियामा भएको एसिसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको नेपाली महिला टोली अन्तर्राष्ट्रिय उपलब्धिको हिसाबले पछाडि नै छ । 

पुरुष क्रिकेटले ११ वर्षअघि नै आइसिसी टी–२० विश्वकप खेलेर दोस्रो पटक २०२४ मा विश्वकपको अनुभव बटुल्दा महिला क्रिकेटले विस्तारै आफ्नो लय समात्ने छनक देखिएको छ ।

एसियाली प्रतियोगिता बाहिर जान नसकेको नेपाली महिला टोलीले थाइल्यान्डमा सम्पन्न आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो ।नेपाली महिला टोलीले पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको हो । अब नेपाली महिला टोली विश्वकपभन्दा एक कदम पछाडि छ ।

मौसम र भाग्यको साथ 

नेपाललाई विश्वकप नजिक पुग्न यसपटक मौसम र भाग्यले पनि साथ दियो । सँधै तँगारो बन्ने गरेको युएइईलाई सुपर तीनको खेलमा हराए पनि नेपालको ग्लोबल छनोट यात्रा तय भएको थियो । 

लिग चरणमा हङकङ र बहराइनबिचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर तीनमा प्रवेश गरेको छ । समूह ‘सी’ मा हङकङ र नेपालका समान पाँच अङ्क भए पनि नेपाल बढी जित निकालेको आधारमा आधारमा अगाडि रहेको हो । 

नेपाल लिग चरणको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन अवस्थामा थियो । यता हङकङ चार खेलमा एक जित र तीन नतिजाविहीन भएको थियो । 

यदि लिग चरणको अन्तिम खेलमा हङकङले बहराइनलाई हराएको भए नेपालको सम्भावना सकिने थियो । तर उक्त खेलमा वर्षा बाधक बन्दा हङकङ बाहिरियो र नेपाल भाग्यमानी बनेको थियो ।

सुपर तीनको अन्तिम खेलअगावै छनोट यात्रा तय गरेको नेपाल अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले पराजित भयो । जितका लागि एक सय ५९ रनको लक्ष्य पाएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटमो क्षतिमा ८० रनमा समेटियो ।

थाइल्यान्डले च्याम्पियन बन्दै ग्लोबल छनोटमा पुग्दा अन्तिम खेलमा नेपालको ब्याटिङ कमजोर भयो । भाग्यमानी नेपालले ग्लोबल छनोटमा यो कमजोरी सुधार गर्नुपर्ने आवश्यक छ ।

अब नेपालले विश्वकप पुग्न अन्तिम चरणको ग्लोबल छनोट खेल्ने छ । छनोट खेलमा १० टोलीबिच प्रतिस्पर्धा हुने छ । जसमा नेपालले थाइल्यान्ड, बङ्गलादेश, स्कटल्यान्ड, अमेरिका, आयरल्यान्ड र नेदरल्याान्ड्स, युगान्डा, जिम्बाबे, नामिबिया जस्ता टोलीको सामना गर्नुपर्नेछ ।

 जसबाट चार टोलीले विश्वकपमा स्थान बनाउने छन् ।  भर्खर पाइला चालेको नेपालका लागि ग्लोबल छनोट चुनौतीपूर्ण छ । 

महिला क्रिकेटमा क्यानको चासो 

यस ऐतिहासिक उपलब्धिका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले पछिल्ले समय महिला खेलाडीका गरेको लगानी र चासोको प्रभाव पनि हो । वर्षमा हुने एकाध राष्ट्रिय प्रतियोगिता खेलेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्ने महिला क्रिकेटरको बाध्यतालाई क्यानले विस्तारै चिर्दै गएको छ ।

यस पटक क्यानले एसिया छनोट अघि महिला टोलीलाई भारतमा प्रशिक्षणको  व्यवस्था मिलाएको थियो । यस्तै क्यानले महिला टोलीलाई विदेशी कन्सल्टेन्ट प्रशिक्षकको समेत व्यवस्था गरेको थियो ।

क्यानले प्रधानमन्त्री कपलाई लामो ढाँचामा सञ्चाल गरेर पनि महिला खेलाडीको प्रदर्शनमा केही सुधार गरेको देखिन्छ । यद्यपी पुरुष क्रिकेटको तुलनामा नेपालमा अझै महिला खेलाडीको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागिता न्युन छ ।

 

cricket2.jpg

केन्द्रीय सम्झौताको उत्साह 

क्यानले महिला खेलाडीका लागि राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय सहभागितासँगै खेलाडीलाई गएको फागुन महिनादेखि केन्द्रीय सम्झौतामा राखेको छ ।

यसले पनि महिला खेलाडीको मनोबल उच्च बनाएको हो । यसपटक कप्तान इन्दु बर्मा, अनुभवी खेलाडी रुविना क्षेत्री, युवा स्टार पूजा महतो र बलर मनिषा उपाध्यायको प्रदर्शन तारिफ गोग्य रह्यो । 

क्यानले पहिलो पटक १९ जना महिला खेलाडीलाई ‘ए’, ‘बी’ ‘सी’, ‘डी’ र इमर्जिङ श्रेणीमा विभाजन गरी मासिक तलव भत्तासहितको सम्झौता गरेको छ । ‘ए’, ‘बी’ ‘सी, ‘डी’ र इमर्जिङ मा रहेका खेलाडीले मासिक क्रमश: ५०, ३५, ३०, २५ र २० हजार रुपियाँ पाउँदै आएका छन् । 

अहिले ‘ए’ मा कप्तान इन्दु बर्मा, अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता रानामगर हुनुहुन्छ । यस्तै ‘बी’ मा कविता कुँवर, ‘सी’ मा पूजा महतो र अश्मिना कर्माचार्य, ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल हुनुहुन्छ । इमर्जिङ खेलाडीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, श्रृष्टि जैसी, सम्झना कुमारी खड़का र सना प्रविन हुनुहुन्छ । 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend