काठमाडौं, जेठ १ : चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित आर. आर. कम्प्लेक्स व्यवसायिक टहरामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बिहीबार बिहान करीव ५:२५ बजे उक्त टहरामा रहेको एउटा कपडा पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको थियो। फलामे टसबाट बनाइएको टहरा १५/२० वटा सटर सञ्चालित रहेकामा आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसायहरूमा पूर्ण रूपमा क्षति पुगेको बताइएको छ । क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।
आगो निभाउनका लागि चन्द्रागिरि नगरपालिकाका नगरप्रहरीहरु, नेपाली सेनाका, सशस्त्र प्रहरीका र नेपाल प्रहरीका सुरक्षाकर्मी खटिएका थिए। चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायत कार्यालयबाट ६ वटा वारुणयन्त्र आगो निभाउन प्रयोग गरिएको थियो ।
