काठमाडौँ, वैशाख ३१ : चन्द्रागिरि नगरपालिका , जनस्वास्थ्य शाखाव्दारा आज शहरी स्वास्थ्य केन्द्र चन्द्रागिरि ५ किसिपिडिमा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
महिलामा हुने स्तन क्यान्सर तथा अब्स्टेट्रिक फिस्टुला, आङ खस्ने समस्या , पाठेघरको मुखको क्यान्सर पहिचानका लागि सो शिविर आयोजना गरिएको थियो । शिविरमा ३० वर्ष माथिका १४५ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा ९० जना महिलाको भिडियो एक्सरे समेत गरिएको थियो ।
शिविरको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्नुभएको थियो । चन्द्रागिरि नगरपालिका, पूर्वाधार समितिका संयोजक एवं वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र महर्जन, चन्द्रागिरि नगरपालिका,जनस्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतो, वरिष्ठ नर्सिङ अधिकृत विष्णुमाया रिजाल लगायत अन्य स्वास्थ्यकर्मीको शिविरको शुभारम्भ सत्रमा सहभागीता रहेको थियो । नगरपालिकाले भीआइए माध्यमबाट पाठेघरको मुखको क्यान्सरको नियमिति स्क्रिनिङ तथा एचपिभी खोप सञ्चालन गरेको छ । साथै नसर्ने रोगको स्क्रिनिङ अभियान पनि सञ्चालन गरेकोछ ।
