काठमाडौँ, वैशाख ३० ः चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१ / ८२ मा सम्पादित योजना, कार्यक्रम तथा सेवा सुविधा प्रवाह सम्वन्धमा केन्द्रीत रहेर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ का दफा ७८ को उपदफा ५ वमोजिम सो चन्द्रागिरि नगरपालिका परिसरमा सार्वजानिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले चैत्र मसान्तसम्मको प्रगति विवरण प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा सो अवधिमा नगरपालिकामा २० करोड ९५ लाख ४२ हजार रुपैयाँ कर सङ्कलन भएको र घर जग्गा रजिष्ट्रेशनबाट २५ करोड ४९ लाख रुपैयाँ सङ्कलन भएको जानकारी दिइएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाको यस आर्थिक वर्षको स्वीकृत बजेट २ अर्ब ८१ करोड ३५ लाख मध्ये चैत्र मसान्तसम्म जम्मा ९१ करोड ३४ लाख ९० हजार ६८७ खर्च भएको विवरण सार्वजानिक गरिएको थियो ।
नगरपालिकाका विषयगत शाखाहरुबाट चैत्र मसान्त सम्म सम्पन्न भएका कार्यक्रमहरुको प्रगतिविवरण पनि सार्वजनिक गरिएको थियो । कार्यक्रमका शुरुआतमा सामाजिक विकास समितिका संयोजक एवम् चन्द्रागिरि –१५ का वडाध्यक्ष घनश्याम लुइटेलले सवै वडाहरु र नगरपालिकाको सवल पक्ष र सुधार गर्नुपर्ने कुरा सम्वन्धी एक्जिट पोलका रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।
सो रिपोर्टमा वडा कार्यालयहरुमा गुनासो सम्पर्क व्यक्ति नभएको, ज्येष्ठ नागरिकहरुका सवालहरु, योजनाका अनुगमनमा प्राविधिक पक्ष रहेका थिए ।
नगरप्रमुख गिरीद्वारा सेवाग्राहीका जिज्ञासा सम्बोधन
सार्वजानिक सुनुवाई कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाका सेवा प्रवाह लगायत अन्य विषयमा नगरवासीले राखेका जिज्ञासाका बारेमा स्पष्ट पार्नुभएको थियो । प्रत्यक्ष प्रश्नोत्तरमा नगरवासीले योजना कार्यान्वयन, विषयगत शाखाहरुबाट प्रवाह गरिएका सेवा, खानेपानी समस्या एवम् व्यवस्थापन, राजश्व संकलन, उज्यालो चन्द्रागिरि कार्यक्रम सेवा विस्तार, सुरुङ मार्गबाट उत्पन्न समस्या, सार्वजनिक जग्गा संरक्षण, त्रिभुवन उद्यान व्यवस्थापनमा नगरपालिकाको भूमिका लगायतका विषय उठान गरेका थिए ।
प्रश्नोत्तरका क्रममा नगरप्रमुख गिरीले जिपिएस / जिआइस आधारित सडक सञ्जाल र घर नम्बर सफ्टवेयरमा अद्यावधिक भैसकेको, नगरका ७० भन्दा वढी स्थानमा फ्रि वाइफाइ जडान भएको , २४ वटा सामुदायिक विद्यालयमा इन्टरनेट जडान भएको र बिग्रिएका सडक वत्ती मर्मत कार्य जारी रहेको जानकारी दिनुभयो ।
उहाँले नगरवासीलाई निः शुल्क रगतको व्यवस्था गरिएको , चिकित्सक र प्रयोगशाला सहित बसै वडामा स्वास्थ्य सेवा प्रवाह गर्न लागिएको , सामुादायिक स्वास्थ्य तथा नर्सिङस सेवा घरदैलो कार्यक्रम निरन्तर जारी रहेको बताउनुभयो । चन्द्रागिरि –१० को खानेपानी समस्याका बारेमा नगर प्रमुख गिरीले चन्द्रागिरिका अन्य वडाबाट खानेपानीको व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, कार्यपालिका सदस्यहरु, विषयगत समितिका संयोजकहरु एवं वडाध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु एवं अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यसै गरी नगरक्षेत्रका विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, शिक्षकहरु, उपभोक्ता समितिका सदस्यहरु, टोलसुधार एवं स्थानीय क्लबका पदाधिकारीहरु, समाजसेवी, वुद्धिजिवि, नागरिक समाज, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
