काठमाडौं,बैशाख २७ : गणेशमान राजमार्ग (थानकोट–चित्लाङ सडक) खण्डमा धमाधम कालोपत्रको काम भइरहेको छ । बैशाख २५ गतेदेखि २७ गतेसम्म सडक पूर्णरुपमा बन्द गरेर काम अघि बढाइएको हो ।
संघीय सरकार तर्फबाट चन्द्रागिरि ४ स्थित गणेशमान राजमार्गमा विनियोजित ६ करोडको लागतमा ढल सहित ११०० मिटर कालो पत्रे गर्ने कार्य सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले अनुगमन गर्नु भएको छ ।
थानकोट हुदै चितलाङ्ग जाने सो बाटोमा छिटो काम सक्काएर जनतालाई आवतजावत गर्न सहज गर्नका लागि निर्माधिन ठेक्का कम्पनीलाई नगर प्रमुख गिरी ले निर्देशन दिनु भएको थियो । अनुगमनमा चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता कृष्णप्रसाद खड्गी , चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल , चन्द्रागिरि–८ का वडाध्यक्ष प्रल्हाद रिजाल , चन्द्रागिरि–१३ का वडाध्यक्ष कृष्ण खत्री र वडा नं। ४ का वडा सदस्य पृथ्वी लामाको उपस्थित रहेको थियो ।
सडक डिभिजन कार्यालय काठमाडौंका साइट इञ्जिनियर रामकुमार श्रेष्ठले तीन दिनसम्म पूर्णरुपमा सडक बन्द गरेर धमाधम कालोपत्रेको काम गरिए पनि काम बाँकी रहने जनाउनु भयो । उहाँले बीएसपी जेश्री महालक्ष्मी ज्वाइन्ट भेन्चर कम्पनीले २०८१ बैशाख ३१ गते सम्झौता गरी २०८२ बैशाख ३० गते काम सम्पन्न गर्ने गरी जिम्मेवारी पाएकोमा समयमा नै उक्त काम सम्पन्न हुने बताउनु भयो ।
उहाँले थानकोटको पानीघाट क्षेत्रदेखि सेतो पहराको तल्लोमोडसम्मको ११ सय मिटरसम्म बाटो सम्याउने देखि कालोसम्म ३ करोड ९३ लाख ५२ हजार ८ सय ४९ रुपैयाँ भ्याटसहितको काम हुने बताउनु भयो । उहाँले तीन दिनमा कालोपत्रे सम्पन्न गर्ने भने तापनि काम नसकिने र धेरै समय राजमार्ग अवरुद्ध पारेर काम पनि गर्न नमिल्ने हुँदा एकतर्फी सडक संचालन गरेर भएपनि काम गर्ने बताउनु भयो ।
