काठमाडौँ, वैशाख २६ : चन्द्रागिरि नगरपालिका भित्र अब निर्माण हुने भवनहरु (व्यक्तिगत /सार्वजनिक) घरहरुलाई कसरी ऊर्जा प्रभावकारी ढाँचामा तयार गर्ने भन्ने ध्येयले आजदेखि यहाँ तीनदिने तालिम सुरुआत भएको छ ।
चन्द्रागिरि नगरपालिकाले युरोपियन युनियनको सहकार्यमामा सञ्चालित कार्यक्रम BUILDING Energy Efficiency in Nepal (वीन)को आर्थिक एवम् प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा कार्यरत इञ्जिनियर र नगरपालिकामा सूचिकृत भएका प्राविधिकहरुका लागी ‘ऊर्जा प्रभावकारी भवन ढाँचा तयार (डिजाइन) तालिम’ आयोजना गरिएको हो । तालिममा नगरपालिकामा कार्यरत र नगर पालिकामा सूचिकृत भएका करिव ६० जना इञ्जिनियर र आर्किटेकहरुको सहभागीता रहेको छ ।
कार्यक्रमको सुभारम्भ गर्दै चन्द्रागिरि नगरपालिकाको नगरप्रमुख घनश्याम गिरीले सबैभन्दा वढी जनगुनासो प्राविधिक माथि आउने गरेको आफूले पाएको जनाउँनुहुँदै सेवाग्राहीहरुले गुनासो नगर्ने गरि कार्य सम्पादन गर्न इञ्जिनियरलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राही सचेत छन् । उनीहरुलाई हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्ने कुरा स्पष्ट भनिदिनुपर्छ । सेवाग्राहीको सन्तुष्टि नै सुशासनको मापन हो । तपाईँले मेरो शिर नझुक्ने गरी सेवा प्रदान गर्नुहोला ।” पहिले पहिले बनेका भवन ऊर्जा प्रभावकारी भएको तर अहिले प्रबिधिको विकास भएपनि मौलिकता हराउदै गएको जनाउँदै नगरप्रमुख गिरीले सस्तो लागतमा ऊर्जा मैत्री घर , भवन बनाउन नागरिकलाई उत्प्रेरणा दिनुपर्छ भन्नुभयो ।
चन्द्रागिरि नगरपालिकाको पूर्वाधार समितिका संयोजक एवं वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले भवन निर्माण मापदण्ड छिट्टै कार्यान्वयन आउने जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिका क्षेत्रमा भवन निर्माण गर्दा ऊर्जा दक्षता सम्बन्धि मापदण्ड पालन गर्ने नगरपालिकाको नीति अनुरुप प्रबिधिकहरुलाई दक्ष बनाउन तालिम आयोजना गरिएको स्थानीय पूर्वाधार विकास शाखाका प्रमुख लवकुमार गुप्ताले जानकारी दिनुभयो ।
नक्शा व्यवस्थापन इकाईका ई रिवाज श्रेष्ठले घरमा बिभिन्न उपकरण बाहेक नै कसरी घरलाई ऊर्जा प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा नै तालिम केन्द्रीत रहेको बताउनुभयो । उहाँले सुबिधा युक्त घर बनाउँदा खर्चिलो हुने भ्रम रहेको बताउदै उर्जा प्रभावकारी भवन बनाउदा करिव ३५ प्रतिशत ऊर्जा खपतमा कमिहुने जानकारी दिनुभयो ।
भवन निर्माण गर्दा भवनको बाहिरी आवरणले आउट,प्रकृतिक भ्यान्टिलेटर,दिवा प्रकाश लगायतका बिषयलाई मध्यनजर गर्दै गारो,छानो,झ्यालहरुमा ध्यानदिनु पर्ने जनाइएको छ । घरमा प्रकाश ,हावा पास लगायतका तापिय सुबिधाका बिषयहरुमा बिभिन्न चरणमा कार्यहुने गरेको भएपनि डिजाईनबाट नै सुरु हुनुपर्ने तालिम संयोजक संगीता थापा मगरले जानकारी दिनुभयो ।
तालिममा ई संगीता थापा मगर सहित दिवस अधिकारी, प्रतिभा लम्साल लगायतले प्रशिक्षण दिनुहुने छ । BUILDING Energy Efficiency in Nepal (बिन)ले मार्च २०२२ देखि सुरु गरेको यस कार्यक्रममा बागमती,लुम्बिनी र गण्डकी प्रदेशका ६० स्थानीय निकाय संलग्न रहेका छन । बिनले भवन निर्माण सम्बन्धी तालिम,दक्ष जनशक्ति उत्पादन,भवन निर्माणका लागि आवश्यक कर्जा समन्वयन,र नीतिगत सुझाव दिदै आएको कार्यक्रम संयोजक सुरेश प्रजापतिले बताउनुभयो ।
