काठमाडौँ, वैशाख २६ : ‘लैङगिक तथा जलवायु उत्तरदायी शहरी योजना निर्देशिकाको मस्यौदा २०८१’ सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाद्वारा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (युएन ह्वाविट्याट) को आर्थिक एवं प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
चन्द्रागिरि नगरपालिकाले दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन ( नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजानिक समेत गरेको छ ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’ लाई संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेको जानकारी दिनुहुँदै नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रक्रियामा दिगो विकास लक्ष्यका राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी र सरसफाइ र दिगो शहर र समुदाय जस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख गिरीले ऐतिहासिक साँस्कृतिक नगरी समृद्ध पर्यटकीय चन्द्रागिरि विषयमा प्रस्तुती समेत गर्नुभएको थियो ।
युएन ह्याविट्याटका प्रतिनिधि प्रज्ञा प्रधानले भौतिक पूर्वाधारका कार्यक्रममा लगानी बढाउँदा यसबाट सामाजिक तथा पर्यावरणीय क्षेत्रमा पार्ने असरका बारेमा ध्यान दिन आग्रह गर्दै शहरी विकासमा चन्द्रागिरि नगरपालिकाले उत्कृष्ट काम गरेको बताउनुभयो ।
कार्यक्रममा चन्द्रागिरि –८ का वडाध्यक्ष प्रल्हाद रिजाल, चन्द्रागिरि –१० का वडाध्यक्ष शिवकुमार महर्जन, चन्द्रागिरि –११ का वडाध्यक्ष नरेन्द्र श्रेष्ठ, चन्द्रागिरि –१२ का वडाध्यक्ष न्हुच्छे महर्जन ,चन्द्रागिरि –१३ का श्रीकृष्ण खत्री र चन्द्रागिरि –१५ का वडाध्यक्ष घनश्याम लुईटेल , लगायत कार्यपालिका सदस्य , शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख सुजन राज खनाल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा ‘लैङगिक तथा जलवायु उत्तरदायी शहरी योजना निर्देशिकाको मस्यौदा २०८१’ विषयमा विज्ञ ओमधरानन्द राजोपाध्यायले प्रस्तुती गर्नुभएको थियो ।
