Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

किसान रासायनिक मल नपाउँदा चिन्तामा


सूचना कुण्ड
किसान रासायनिक मल नपाउँदा चिन्तामा

काठमाडौँ, वैशाख २५ :  यो वर्ष समयमै वर्षा भएपछि मकै छर्न थालेका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ । 

बाढीपहिरोको विपत्तिलाई भुलेर खेतीमा रमाउने प्रयासमा रहेका काभ्रेपलाञ्चोकका किसानले युरिया मल नपाउँदा मानसिक तनाव झेलिरहेका हुन् ।

प्राकृतिक विपत्ति झेलेर पुरानै अवस्थामा फर्कन लागेका किसानलाई सहजै रासायनिक मल उपलब्ध गराउन काभ्रेलाई पहिलो प्राथमिकता दिन अनुरोध गरेर पत्र लेखे पनि त्यसो हुन नसक्दा युरिया मलको अभाव देखिएको कृषि सामग्री कम्पनीका अधिकारीले उल्लेख गरेका छन् । 

कृषि सामग्री कम्पनी काभ्रेका शाखा प्रबन्धक योगेन्द्रकुमार पराजुलीले नियमित तथा मौज्दात मल काभ्रेपलाञ्चोकमा कम आएकाले युरियामा समस्या देखिएको उल्लेख गर्नुभयो । कुनै समय वार्षिक १९ हजार मेट्रिक टन मल खपत गरेको काभ्रेलाई अहिले मुस्किलले आठ हजार मेट्रिक टन आउने गरेको छ । 

केन्द्रको मौज्दात मलबाट बागमती प्रदेशमा आएको मलको मौज्दातलाई भाग लगाउँदा काठमाडौँमा भन्दा काभ्रेपलाञ्चोक जिल्लामा कम मल उपलब्ध गराइएको छ । बागमती प्रदेशमा रहेको मल व्यवस्थापन समितिमा रहेको पाँच मेट्रिक टन मलमध्ये भागबन्डामा काभ्रेले ६० मेट्रिक टन मात्रै मल पाउँदा काठमाडौँले भने ७५ मेट्रिक टन पाएको छ । काठमाडौँमा भन्दा काभ्रेमा मलको आवश्यकता १० गुणा धेरै छ । काठमाडौँमा भाग लगाइएको मल कृषि सहकारीमार्फत व्यापारीसँग पुग्ने र कालोबजारी हुन सक्ने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । 

प्रदेशले लगाइएको भागबन्डामा सिन्धुलीले ७५ मेट्रिक टन, सिन्धुपाल्चोकले ४०, मकवानपुरले ८०, नुवाकोटाले ६०, धादिङले ६०, भक्तपुरले १५ र ललितपुरले ३० मेट्रिक टन पाएका थिए । काभ्रेपलाञ्चोक नेपालमै सबैभन्दा धेरै रासायनिक मल खपत गर्ने जिल्ला भए पनि कम मल पाउँदा समस्या देखिएको शाखा प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । बागमतीले पाएको अर्को पाँच सय मेट्रिक टन युरिया मल चैत महिनामै चैते धानका लागि भन्दै चितवन जिल्लालाई उपलब्ध गराइसकेको छ । 

मल वितरणका लागि समानुपातिक प्रणालीको विकास गर्ने भन्दै २०७४ साल मङ्सिर १ बाट नयाँ प्रणाली लागु भएपछि काभ्रेमा मलको समस्या सुरु भएको हो । त्यसअघि काभ्रेले वार्षिक १९ हजार मेट्रिक टनको मलको खपत गर्ने गरेकामा त्यसपछि कोटा प्रणालीले आठ हजार मेट्रिक टन आउने गरेको र बाँकी मल चर्को मूल्यमा किन्न किसान बाध्य छन् ।

नेपालमै धेरै मल खपत गर्ने काभ्रेमा कोटा प्रणाली लागु भएपछि कम मल आउन थालेको हो । कोटा सुरु भएपछि मोरङले एक हजार एक सय मेट्रिक टन पाउँदा काभ्रेले ५४३ मेट्रिक टन मात्रै पाउने गरेको छ । काभ्रेमा अहिले ३५ हजार बोरा युरिया मल आवश्यक रहेकोमा मुस्किलले २० हजार बोरा आएको छ । 

समानुपातिक प्रणाली अनुसार कोशी प्रदेशले २१.५, मधेशले २६.५, गण्डकीले ४.९, लुम्बिनीले २०.६, सुदुरपश्चिमले ९.७, कर्णालीले दुई र बागमती प्रदेशले १४.८ प्रतिशत मल पाउने गर्छ । कुल मलको १० प्रतिशत मौज्दात केन्द्रमा रहने गर्दछ । 

सामाजिक सञ्जालमा ती जिल्लामा १० किलो मल लिन लामो लाइन बसेका तस्बिर र भिडियो सार्वजनिक हुन थालेका छन् । यसले आफूलाई झन् समस्यामा पारेको पबवन्धक पराजुलीले उल्लेख गर्नुभयो । तीन सय बोरा युरिया आवश्यक भएको कृषि सहकारीलाई ३० बोरा मल दिन नसक्ने अवस्था आएको उहाँले स्पष्ट पार्नुभयो । 

‘‘चुरोट र रक्सी भने जति किन्न पाउने, सुर्ती र पराग गाउँ गाउँका पसलमा पाइने तर दुःख गर्छु, पसिना निकाल्छु र खेती गर्छु भन्दा मल नपाइने,” रोशी गाउँपालिका–९ का पूर्वदर्शन श्रेष्ठले भन्नुभयो । 

आफ्नो वडामा तीन सय बोरा मलको आवश्यकता भएकामा कृषि सामग्री केन्द्र लिमिटेडले ३० बोरा युरिया मल कोटामा दिएपछि मल लिएर जाने कि नजाने भन्ने दुबिधामा परेको उहाँले बताउनुभयो । 

१० किलो रासायनिक मलका लागि लाममा बस्नुभएको काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ का रवीन्द्र सापकोटाले युरिया मलको अभाव देखिएको उल्लेख गर्नुभयो । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले ७० र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत रासायनिक मल बिक्री गर्ने गरेका छन् । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका किसान रमेशबहादुर कार्कीले मलको माग अत्यधिक भएको र कृषि सामग्रीबाट उपलब्ध हुन नसक्दा समस्या देखिएको बताउनुभयो ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend