काठमाडौँ, वैशाख १६ : नेपाल प्रहरीको अभिलेख अनुुसार करेन्ट लागेर मात्रै देशभर वर्षेनी तीन सयभन्दा बढीले ज्यान गुमाउने गरेको देखाएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गएको चार आर्थिक वर्षमा मात्रै एक हजार २६४ जनाको ज्यान करेन्ट लागेर गएको छ । त्यसमा बालकालिको संख्या मात्रै १२० छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार विद्युत् सर्ट भएको लाइन तथा विभिन्न विद्युतीय दुर्घटनाका कारण करेन्ट लागेर उनीहरुको ज्यान गएको हो ।
डीआईजी आचार्य भन्छन्, ‘‘बेग्लाबेग्लै प्रकृतिका कारण करेन्ट लागेको देखिन्छ । यसमा एउटाको कमजोरी मात्रै देखिँदैन । कतिपय घटनामा व्यक्तिका लापरवाहीका कारण पनि घटना घटेको देखिन्छ ।’’
प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा २५८ जनाको करेन्ट लागेर ज्यान गएको छ । यसमध्ये १८७ पुरुष र ४६ महिला तथा १७ बालक र ८ जना बालिका छन् । यसरी नै अघिल्लो आर्थिक वर्ष २०८०–२०८१ मा कुल ३०६ जनाले ज्यान गुमाएको देखिन्छ ।
यसरी ज्यान गुमाउनेहरुमा २१३ पुरुष तथा ६३ महिला, २४ बालक र ६ बालिकाको ज्यान गएको छ । यसरी नै आर्थिक वर्ष २०७९–०८० मा पनि कुल ३१६ जनाको ज्यान करेन्ट लागेर गएको छ । यो आर्थिक वर्षमा २३५ पुरुष, ४६ महिला, २२ बालक र १३ बालिकाको ज्यान गएको अभिलेख प्रहरीसँग छ ।
त्यसअधिको आर्थिक वर्ष २०७८–०७९ मा ३८४ जनाको ज्यान गएको छ । प्रहरीको तथ्यांक अनुसार यो आर्थिक वर्ष २८२ पुरुष, ७२ महिला र २२ बालक र ८ बालिकाको करेन्टका कारण ज्यान भएको छ ।
के भन्छ विद्युत् प्राधिकरण ?
विद्युत् प्राधिकरणले यसरी करेन्ट लागेर ज्यान गुमाएकाको परिवारलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिँदै आएको छ । आफ्नै कर्मचारीको हकमा भने पाँच लाख क्षतिपूर्ति तथा परिवारका अन्य सदस्यलाई रोजगारीको व्यवस्था गरेको छ ।
तर, गएको चैत ११ को प्राधिकरण सञ्चालक समितिको बंैंठकले सर्वसाधारणको हकमासमेत क्षतिपूर्तिलाई बढाएर १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । यद्यपी यो निर्णय भने कार्यान्वयनकै चरणमा छ ।
प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले भने करेन्ट लागेर मर्ने घटनामा सबै प्राधिकरणकै कमजोरी भन्न नमिल्ने बताए ।
उनी भन्छन्,‘‘सबै करेन्ट लागेर ज्यान गुमाएको घटनामा प्राधिकरणकै कमजोरी भन्ने हुँदैन । कतिपय ठाउँमा विद्युत चोरी गर्दा पनि करेन्ट लागेका घटना छन् । कतिपय आफ्नै घरमा आवश्यक सतर्कता न अपनाउँदा करेन्ट लागेका पनि छन् ।’’
कतिपय ठाउँमा चट्याङका कारण करेन्ट लाग्ने गरेको पनि उनको भनाइ छ ।
