काठमाडौँ , वैशाख १२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चन्द्रागिरि नगरपालिका वडा नं ३ थानकोटस्थित स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि – ३ को संयुक्त साझेदारीमा कूल १ करोड ९७ लाख रूपैयाँ लागतमा सो स्वास्थ्य चौकी भवन बन्न लागेको हो । यसका लागि हाल मन्त्रालयले रुपैयाँ ३७ लाख र नगरपालिकाले रुपैयाँ १० लाख उपलब्ध गराइसकेको जनाइएको छ ।
चालु आर्थिक वर्षमा भवनको बाहिरी संरचना निर्माण भइसक्ने चन्द्रागिरि ३ का वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिनुभयो । अनुसार तीन तल्ले सो भवन निर्माण सम्पन्न भएपश्चात हाल रहेका स्वास्थ्य चौकी स्तरोन्नति हुने चन्द्रागिरि नगरपालिका जनस्वास्थ्य शाखाका वरिष्ठ अधिकृत विष्णुमाया रिजालले बताउनुभयो ।
सो अवसरमा मन्त्री पौडेलले नेपाल चिकित्सक संघको अगुवाईमा जारी आन्दोलनका माग सम्बोधन गर्न मन्त्रालय तयार रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने छ । निजी मेडिकल कलेजहरुले निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेसम्म मन्त्रालयसँग सरोकोर राख्ने कुनै पनि काम अघि बढ्दैन । निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन ।”
उहाँले निजी मेडिकल कलेजले निर्वाह भत्ता रु ४८ हजार दिनु पर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र त्यसपछि कलेजहरुले माग गर्दे आएको स्नातकोत्तरको सिट र शुल्क बढाउने कुरामा वार्ता गर्न सकिने बताउनुभयो ।
मन्त्री पौडेलले जनताको स्वास्थ्य अवस्थाको बारेमा केन्द्र सरकारले भन्दा पनि स्थानीय सरकारले बढी जानकारी राख्ने भएकोले आउँदो आर्थिक वर्षबाट पालिकास्तरबाट नै नागरिकको स्वास्थ्य अवस्था स्क्रिनिङ सेवा सुरु गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो । चन्द्रागिरि–४ थानकोटमा निर्माणाधीन परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । मन्त्री पौडेलले आज नै थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालको हाताभित्र निर्माणाधीन परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल निर्माण स्थलको अवलोकन समेत गर्नुभएको थियो ।
सो अवसरमा नगरप्रमुख घनश्याम गिरीले स्वास्थ्य क्षेत्र प्रवद्र्धन गर्न नगरपालिकाले उच्च प्राथमिता दिएको बताउनुभयो ।
नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष दुर्गालाल महर्जन, प्रल्हाद रिजाल, घनश्याम लुँइटेल, नगरका कार्यपालिका सदस्यहरू, नगर सभासदस्यहरू, नगरका विभिन्न शाखामा कार्यरत कमर्चारीहरू, महिला स्वास्थ्य स्वयंसेवीका तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो । 
