Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हनुमान जन्मोत्सवको शोभायात्रा प्रकरणमा पाँच जनामाथि मुद्दा दर्ता : वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो


सूचना कुण्ड
हनुमान जन्मोत्सवको शोभायात्रा प्रकरणमा पाँच जनामाथि मुद्दा दर्ता : वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो

पर्सा   वैशाख ५  :वीरगन्जमा गत शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्रामा दुई समुदायबिच भएको झडपमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको कसुरमा पक्राउ परेका पाँच जनामाथि राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार झडप भएको क्षेत्रको सिसिटिभी फुटेज, ड्रोन भिडियो तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो सामग्री र प्रमाणका आधारमा हालसम्म पाँच जनालाई नियन्त्रणमा लिई तीन जनामाथि राज्यविरुद्धको कसुर र दुई जनालाई आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पक्राउ परेका शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई, शकिल मियाँ, रवि सर्राफ र बलजित सिंह रहेको जानकारी दिनुभयो ।

पक्राउ परेका पाँचै जनाविरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

गत शनिबार हनुमान जन्मोत्सवको शोभायात्रा वीरगन्ज–२ छपकैयामा पुगेपछि दुुई फरक धार्मिक समुदायका बिच झडप हुुनुका साथै त्यहाँको पसल, सवारी, साधन लगायतमा तोडफोड र आगजनी भएको थियो ।

वीरगञ्जको निषेधाज्ञा हटाईँदै

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा विहीबार  बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।

प्रजिअ अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गत वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जानकारी दिनुभयो । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबार दिउँसोदेखि वीरगञ्ज महानगर क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend