काठमाडौँ, बैशाख ३ : चन्द्रागरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रम अन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न रु दश /दश लाख रकम उपलब्ध गराउने भएको छ ।
कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर– ४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षात्बाट सो कुलो क्षति भएको जनाइएको छ ।
यसैगरी पिपलामोड –निशाकोट –डुडेभञ्जाङ सडक स्तोन्नती गर्न धुनिवेशी नगरपालिकालाई चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । चन्द्रागिरि – २ र धुनिवेशी–९ को सीमाना सो सडक रहेको छ । दक्षिणकाली नगरपालिका वडा ८ स्थित टिमुरबोट – ओबी डाँडा –घँङ्गेरी हुँदै फास्टट्रयाक जा्ड्ने मोटरबाटोका लागि चन्द्रागिरिले रु दश लाख उपलब्ध गराएको हो ।
चन्द्रागिरि नगरपालिकामा आज आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनिवेशी र दक्षिणकाली नगरपालिकाका नगर प्रमुखसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, शिक्षा, युवा तथा खेलकूल शाखाका प्रमुख सुजनराज खनाल,आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत महेशदत्त भट्ट, शाखा अधिकृत दामोदर रिजाल अधिकृत सिताकुमारी कार्कीलगायतको उपस्थिति रहेको थियो ।
