काठमाडौं, वैशाख १ :गत मंगलबारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली अहिले केही कमजोर देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिक बदली र केही स्थानमा वर्षा भइरहेको छ। बाँकी भागहरूमा त्यहाँ पनि घाम लागिरहेको अवस्था छ।
पछिल्लो तीन घन्टामा सोलुखुम्बु, दोलखा र रूपन्देहीमा वर्षा भएको छ। दोलखामा ६.८ मिलिमिटर वर्षा भएको छ भने अन्यत्र एक मिलिमिटरभन्दा मुनि नै वर्षा भएको छ।
पहाडी तथा तराई भेगमा अहिले गहुँ, दलहन र तेलहन बाली भित्र्याउने बेला पनि भइरहेको छ। राति उघ्रिएजस्तो हुने र बिहान घामसमेत लाग्ने हुनाले कतिपय ठाउँमा किसानहरूले बालीनाली काट्न पनि थालेका छन्।
मौसमविद्हरूले भने अझै नहतारिन सुझाव दिएका छन्। मौसमविद् प्रतिभा मानन्धरले सोमबारदेखि बुधबारसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा राति उघ्रने र बिहानपख घाम लाग्ने सम्भावना रहेको बताउनुभयो ।
तर दिउँसोदेखि साँझसम्म छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको उहाँले भन्नुभयो ।
खास गरी कोशीदेखि लुम्बिनी प्रदेशसम्मै यो सम्भावना छ। हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसममा बदली र छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको उहाँले भन्नुभयो ।
‘आगामी तीन दिनसम्मै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगहरूमा बिहानपख घाम लाग्ने र दिउँसोतिर पानी छिट्याउने देखिन्छ। यी ठाउँमा बालीनाली भित्र्याउँदा मौसमसम्बन्धी जानकारी लिनुपर्ने नै हुन्छ,’ उहाँले भन्नुभयो , ‘यो क्रम बुधबारसम्मै रहन्छ।’
अर्का मौसमविद् विनोद पोखरेलले सोमबार दिउँसो गण्डकी र बागमतीमा छोटो समयका लागि हल्का वर्षाको सम्भावना औंल्याएका छन्। विभिन्न मोडलमार्फत मौसम पूर्वानुमान गर्ने उहाँले मंगलबार र बुधबार देशभर कम वर्षाको सम्भावना देखाएका छन्।
‘मंगलबार र बुधबारको लागि वर्षाको कम सम्भावना छ,’ उहाँले भन्नुभयो, ‘ बिहीबारदेखि पुनः पानी पार्ने प्रणाली सक्रिय हुने छ ।’
यो वर्षाले हिउँदे बाली थन्क्याउन असर पुर्याउने उहाँले जानकारी दिनुभयो । अतः बुधबारसम्म बाली काटेर भित्र्याउँदा उपयुक्त हुने र त्यसपछि भने पर्खनुपर्ने उहाँको भनाइ छ।
