काठमाडौं, चैत २९ :हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान देशभरि आंशिक बदली रहेको अवस्था छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसविद गोविन्द झाले जानकारी दिनुभयो ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । बाँकी भूभागमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
त्यस्तै उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसविद झाले जानकारी दिनुभयो ।
शुक्रबार राति सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ।काठमाडौं उपत्यकामा पनि शुक्रबार अपराह्नको समयमा हल्का वर्षाको सम्भावना रहेको झाले बताउनुभयो ।
यद्यपि देशैभरि बिहीबारको तुलनामा शुक्रबार कम पानी पर्ने र शुक्रबारको तुलनामा शनिबार कम पानी पर्ने पूर्वानुमान रहेको जानकारी दिनुभयो ।भारतबाट आएको जलवाष्पयुक्त वायु कमजोर बन्दै गएको छ। आज र भोलि अझै कम पानी पर्ने सम्भावना देखिएको छ,' मौसमविद झाले भन्नुभयो ।
वर्षाका कारण काठमाडौंमा प्रदूषणको मात्रा केही घटेको छ। यद्यपि पूर्ण रूपमा भने हटेको छैन। एयर क्वालिटी इन्डेक्सका अनुसार शुक्रबार बिहान ५:४५ को मापनमा काठमाडौंमा वायुको शुद्धता १२३ एक्युआइ देखिएको छ।
